बुटवल,२२ मंसिर ।
बुटवलमा अवैध रूपमा सञ्चालन भइरहेका आठ टुर्स एन्ड ट्राभल एजेसीहरूलाई प्रशासनले बन्द गराएको छ ।

अनुगमनका क्रममा गैर कानुनी ढंगले सञ्चालन भएको भेटिएकोले अनुगमन टोलीले केहीलाई २० हजार रुपैया जरिवाना र केहीलाई बन्द समेत गरि दिएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीले आइतबार अनुगमन गरी नवीकरण र दर्ता नगरी सञ्चालन गरिएका ८ वटा टुर्स एन्ड ट्राभललाई बन्द गरी दिएको छ भने थप दुईवटा लाई जरिवाना समेत गरेर तालाबन्दी गरिदिएको हो ।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले अनुगमनका क्रममा आठ वटा टुर्स एन्ड ट्राभल दर्ता नगरी सञ्चालन गरिएकोले जरिवाना सहित सेवा बन्द गरिदिएको जानकारी दिए । त्यस्तै अन्य केही ट्राभलहरूले एउटा स्थानमा कार्यालय सञ्चालन गर्ने भनी अनुमति लिएर तिन चार स्थानमा शाखा सञ्चालन गरेको, नविकरण नगरेको, यस अघि दिएको निर्देशन पालना नगरेको पाईएकोले उनीहरूलाई २० हजार रुपैयाँका दरले जरिवाना गरेको भुसालले बताए ।

२० हजार रुपैयाँ सहित बन्द गरिनेहरूमा बुटवल वडा नं १० राजमार्ग चौराहामा रहेका नमस्ते आकांक्षा र दर्शन देव चुली टुर्स एन्ड ट्राभल, बुटवल ९ स्थित सुपा देउराली टुर्स एन्ड ट्राभल प्राली, स्वर्गद्वारी लालीगुराँस, नमस्ते सुपा देउराली र माता सुपा देउराली टुर्स एन्ड ट्राभल रहेका छन् । उनीहरूलाई जनही २० हजार जरिवाना सहित बन्द गरिएको छ ।

त्यस्तै तोकिएको मापदण्ड पुरा नगरेको भन्दै राना होलिडेज, नमस्ते सुपा देउराली यातायात प्राली, लुम्बिनी अर्घाखाँची टुर्स एन्ड ट्राभल लगायतलाई जनही २० हजार रुपैयाँ जरिवाना लिएर छोडिएको छ ।

यी सबै टुर्स एन्ड ट्राभलहरूलाई पहिलो पटकमा जनही २० हजार रुपैयाँ जरिवाना लिएर बन्द गरिएको छ । पहिलो पटकका लागि २० हजार रुपैयाँ जरिवाना लिएर नवीकरण तथा दर्ता नगर्दा सम्मको लागि सञ्चालन बन्द गरिएको भुसालले जानकारी दिए ।

कार्यालयका प्रमुख भुसालका अनुसार व्यवसाय ऐन २०७६ लुम्बिनी प्रदेश अनुसार कुनै पनि व्यवसायीले पर्यटन डिभिजन कार्यालयको इजाजत नलिई व्यवसाय सञ्चालन गरेको छ भने पहिलो पटक २० हजार रुपैयाँ जरिवाना सहित व्यवसाय बन्द गराउने कानुनी प्रावधान छ ।

यति हुँदा हुँदै पनि यसअघि दिइएका निर्देशन पालना नगरेको, अनुगमनमा जाँदा बोर्ड निकाली ताला बन्द गरेर भाग्ने, ट्राभल सञ्चालक आफू नभएको जस्ता गैर जिम्मेवार पूर्ण जवाफ दिने र यसअघि दिएका निर्देशन अटेर गरेकाहरूलाई जरिवाना सहित बन्द गरिदिएको उनले बताए ।

अहिले बन्द गरिएकाहरूले आफ्नो व्यवसाय दर्ता र नवीकरण गरेपछि पुनः ताला खोलिदिने उनले बताए ।

पछिल्लो समय ट्राभल व्यवसायहरू दर्ता र नवीकरण नगरी सञ्चालन गरी यात्रुहरूको सुरक्षामा चासो नदिएको गुनासो बढेपछि अनुगमन गरिएको उनले बताए ।

अनुगमन टोली आएको थाहा पाएपछि केही ट्राभल एजेन्सी कार्यालयको साईनबोर्ड समेत झिकेर भागेका थिए । बुटवलको राजमार्ग चौराहमा रहेको सुपा देउराली मैत्री यातायात प्रालि र अकलादेवी टुर्स एन्ड ट्राभल्सका सञ्चालकले कार्यालमा रहेको बोर्ड समेत झिकेर भागेका हुन् ।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा रहेका २ सय हाराहारी टुर्स एन्ड ट्राभल मध्ये करिब १ सय वटा ट्राभल सञ्चालन अवधि सकिए पनि नवीकरण नगरी निर्बाध रूपमा सञ्चालन भईरहेका छन् ।

कतिपय ट्राभलहरू दर्ता समेत गरिएका छैनन् भने कतिपयले एउटा कार्यालय दर्ता र नवीकरण गरे पनि सोही नाममा तिन चार ठाउँमा शाखा खोलेर यात्रुहरूको टिकट काट्ने गर्दै आएका छन् ।

पर्यटन क्षेत्रसँग जोडिएका टुर्स एन्ड ट्राभलहरूले नवीकरण र दर्ता नगरी राज्यको राजस्व ठगी सँगै यात्रुहरूको सुरक्षामाथि नै गम्भीर खेलबाड गरिरहेका छन् । यसरी सञ्चालन भएका ट्राभलले यात्रुहरूलाई स्वदेश र विदेशका विभिन्न सहरका लागि टिकट काटेर पठाइरहेका छन् ।

गैर कानुनी रूपमा सञ्चालित ट्राभल एजेन्सीहरूका कारण यात्रुहरूले सास्ती खेप्दै आएका छन् । भारतका विभिन्न सहर जाने यात्रुहरूलाई टिकट काटिदिएका कतिपय नेपाली टुर्स एन्ड ट्राभलहरूले यात्रुहरूलाई सीमा नाकाबाटै अलपत्र पार्ने गरेकाे गुनासो छ ।

नेपाली बस मार्फत भारत जाने यात्रुहरूलाई खास समस्या नभए पनि भारतीय बसबाट लैजाने यात्रुहरूलाई भने बाटोमा सास्ती हुने गरेको यात्रहरूकाे गुनासो छ । २०७१ र २०७५ सालमा नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा शुभारम्भ गर्दै काठमाडौँ नयाँ दिल्ली र नेपाल भारत मैत्री बस सेवा सञ्चालन गरेका थिए ।

त्यसयता कतिपय यातायात व्यवसायीले अनुमति लिएर आफ्नै लगानीमा नेपाल भारत बस सेवा सञ्चालन गर्दै आएका छन् । नेपाल भारत सेवा सञ्चालन गर्ने अनुमति लिएका बसहरू नेपाली भूमिदेखि मुख्य राजमार्गबाटै भारतका विभिन्न सहरमा पुग्ने गरे पनि अधिकांश ट्राभलहरूले भने रुट इजाजत नलिएका बस मार्फत भारत पठाउने गरेका छन् ।

रुट परमिट नलिएका बसहरू रुपन्देही र कपिलवस्तुका नाका हुँदै मुख्य राजमार्ग नभई नेपाल र भारतीय प्रहरीसँग लुकिछिपी भित्री सडकबाट दिल्ली पुग्ने गर्छन् । यसरी सञ्चालन गरिएका बसहरू यात्राको क्रममा नेपाल र भारतका प्रहरीको नियन्त्रणमा पर्दा यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।

साथै रुट इजाजत नलिएका बसमा यात्रा गराउँदा यात्राको क्रममा कुनै दुर्घटना वा भवितव्य परिहाले उपचार, बिमा वा क्षतिपूर्तिको लागि समस्या हुने गर्छ । गत सोमबार भारतको बलरामपुरमा दुर्घटनामा परेको बसले पनि बेलहियादेखि दिल्लीसम्मको रुट इजाजत लिएको थिएन । उक्त बस दुर्घटनामा परेपछि ज्यान जोगाएर बुटवल आई पुगेका कतिपय घाइते यात्रुले टिकट काटिदिएका टुर्स एन्ड ट्राभलहरूले आफूहरूको उपचारमा बेवास्ता गरेको गुनासो गरेका थिए ।

त्यसपछि ट्राफिक प्रहरीले बेलहियाबाट यात्रु उठाउने भारतीय नम्बरका बसहरूको चेकजाँच बढाएको थियो । गत बुधवार साँझ रुट परमिट नलिई बेलहिया बाइपास रोडबाट नेपाली यात्रु लैजाँदै गरेका युपी ३२ एक्स एन ७४५३ र युपी ८३ बिटी १३३७ नं. का दुई वटा भारतीय बसलाई नियन्त्रणमा लिएपछि यात्रुहरू रातीसम्म बाटोमा अलपत्र परेका थिए ।

बुटवलदेखि नेपाली बसमा लगिएका यात्रुहरूलाई बेहलियास्थित परासी सडक खण्डको बाइपासबाट बसमा चढाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएपछि यात्रुहरू रातीसम्म बाटोमा अलपत्र परेका हुन् ।

आइतबार पर्यटन डिभिजन कार्यालयसहित जिल्ला प्रशासन कार्यालय,बुटवल उपमहानगरपालिका,इलाका प्रहरी कार्यालय बुटवल लगायत सरोकारवाला निकायको टोलीले बुटवलका मुख्य स्थान राजमार्ग चौराहा र इट्टा भट्टी क्षेत्रमा सञ्चालनमा रहेका १५ वटा टुर्स एन्ड ट्राभलहरूको अनुगमन गरेको थियो ।