१४३ दलमध्ये १०७ राजनीतिक दलले पाए चुनाव चिन्ह
काठमाडौं,२१ मंसिर ।
आगामी फागुन २१ गतेका लागि ताेकिएकाे प्रतिनिधि सभा सदस्य निर्वाचन अर्न्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा एकै दिन ३३ दल दर्ता भएको छ ।

आजबाट समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताकाे समय खुलाइएको थियो ।

आइतबार पहिलो दिन समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनमुक्ति पार्टीसहित ३३ दलले दल दर्ताको निवेदन दिएका हुन् ।

पहिलो दिन नेपाली कांग्रेस,जनमुक्ति पार्टी,जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत नयाँ–पुराना दल गरी ३३ दलले दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी एकल चुनाव चिन्ह प्रयोग गर्ने गरी जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एकल चुनाव चिन्ह प्रयोग गर्ने गरी आयोगमा दल दर्ता गराएका छन् ।

समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि यही मंसिर २३ गतेसम्म दल दर्ताको निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म दल दर्ताको प्रमाणपत्र प्रदान गरिनेछ ।

समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची आगामी पुस १३ र १४ गते पेश गर्ने समय तोकिएको छ ।

प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने निर्वाचन तालिका रहेको छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

यसैबीच निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको छ । मंसिर १ देखि १४ गते सम्म आयोगमा दर्ता भएका दलहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको हो ।

आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक दलले चिन्ह प्रदान गरेको प्रवक्ता भट्टराईले बताए । भट्टराईका अनुसार ११४ दल निर्वाचनमा सहभागी हुनेछन् ।

तीमध्ये ५ दल एक चिन्ह लिएर संयुक्त निर्वाचनमा भाग लिनेछन् । एक सय २ दल एक्ला एक्लै निर्वाचनमा भाग लिनेछन् ।