बुटवल,२० मंसिर ।
आगामी फागुन २१ गतेका लागि घाेषित प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–२ बाट अभियान्ता डा. निकोलस भुसाल (कमल) ले उम्मेदवारी घोषणा गरेका छन् ।

अभियान्ता डा. भुसालले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही- २ मा आफुले उम्मेदवारी दिने घाेषणा गरेका हुन् । घाेषित मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंकाकाबीच आफुले उम्मेदवारी घाेषणा गरेको उनलेे बताए ।
आगामी चुनावमा वैकल्पिक शक्ति एकजुट भएर चुनावमा जानुपर्ने बताउँदै डा भुसालले त्यसाे हुन नसके आफुलाई नयाँ र वैकल्पिक राजनीतिक शक्ति भन्नेहरू कसैलाई पनि फाइदा नहुने चेतावनी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी,कुलमान घिसिङ संलग्न उज्यालो नेपाल पार्टी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सकेसम्म एकजुट भएर नभए माेर्चाबन्दी गरेर चुनावमा जानुपर्ने अहिलेकाे आवस्यकता भएको भन्दै उनलेे त्यसका लागि आवश्यक छलफल भइरहेको बताए ।

बुटवल,सैनामैना र तिलाेत्तमाकाे एकीकृत र योजनावद्व विकासका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै डा भुसालले आफुसँग त्यसको बिस्तृत योजना रहेको दाबी गरे ।

यस क्षेत्रबाट चुनाव जितेका जनप्रतिनिधिहरूले जनतालाई झुटा आश्वासन मात्रै दिएको आराेप लगाउँदै उनलेे आफुसँग रूपन्देही मात्रै नभएर देशलाईनै समृद्ध बनाउने योजना रहेको बताए ।

गत निर्वाचनमा उम्मेदवारी रद्ध भएर चुनाव लड्न नपाएका डा भुसालले बिगतमा भएका कमि कमजोरीबाट पाठ सिकेर विकल्पसहित चुनावको तयारी गरेको उल्लेख गरे ।