५ सय सुरक्षाकर्मी र १० भन्दा धेरै डोजर परिचालन
हेटौंडा,२० मंसिर ।
मकवानपुरको हेटौँडा बजारको मेन रोडमा एकाबिहानै डोजर चलेकाे
छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा हटाउन डोजर चलाइएको हो । सडक सीमा भित्रका संरचना हटाउन दिएको १५ दिनको अल्टिमेटम शुक्रबार सकिएसँगै आज बिहान ५ बजे देखि घरटहरा हटाउन डोजर चलाइएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ ।

सडक विस्तारमा ५ सय सुरक्षाकर्मी र १० भन्दा धेरै डोजर परिचालन भएको छ । त्यसक्रममा पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको मेन रोड सिमा चोकमा रहेको घर पेन्टागन टावरमा पनि डोजर चलेको छ ।

सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा ७५–७५ फिट विस्तार गर्न लागेको हो ।

सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै सडक डिभिजनले मंसिर ५ गते उक्त अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन आफैँ भत्काउने सूचनामा जनाइएको थियो ।

सडक डिभिजन कार्यालयको तथ्याङ्क अनुसार बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रभित्र मात्रै ५ सय ३१ वटा संरचना भत्काउनु पर्नेछ । यो रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म क्षेत्रभित्रको संरचना हो । यसमध्ये सडकको केन्द्रबिन्दुबाट दायाँतर्फ २३४ वटा र बायाँतर्फ २९७ वटा संरचना भत्काउनुपर्ने देखिएको डिभिजनले जनाएको छ ।