बुटवल,१० मंसिर ।
रूपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
जिल्लाकाे देवदह नगरपालिका-७ सित्तलनगरस्थित सडकमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३५ वर्षीय किसन परियारको मृत्यु भएको छ । उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माेटरसाइकललाई ठक्कर दिने बोलेरो जिपका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रूपन्देहीकै लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ बन्जरहीस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २० वर्षीय सुरज लोधको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








