बुटवल,१९ मंसिर ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भाेली शनिबार बुटवलमा हुने भएको छ ।

अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष दीपुमगरले जानकारी दिए ।

प्रतिष्ठानले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि अधिवेशनकाे तयारी बारे जानकारी गराएको हो ।

प्रदेशभरबाट १६५ जना प्रतिनिधि तथा विभिन्न अतिथिहरुसहित ३ सय बढीको सहभागिता रहने अधिवेशन उद्घाटनका क्रममा विभिन्न ५ विधामा श्रष्टाहरुलाई सम्मान गरिने अध्यक्ष मगरले बताए ।

अधिवेशनका लागि केन्द्रीय नेताहरु बुटवल आउने क्रम जारी रहेको बताउँदै उनले शनिबारको कार्यक्रममा चर्चित कलाकार तथा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, गायक बद्री पंगेनी, उपाध्यक्ष सुवास केसी, सचिव दिपक गरौजा, सहसचिव सीता राना लगायतको उपस्थिती रहने जनाइएको छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका शहरी बिकास मन्त्री सरोज थापाले गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिले करिब ३ वर्षको अवधिमा गरेका महत्वपूर्ण कामहरुका बारेमा जानकारी गराउँदै उनले कलकारहरुका लागि कलाकार हित कोष स्थापन गर्न सफल भएको बताए । प्रारम्भमा एक लाख बराबरको हित कोष स्थापना गर्नुका साथै संस्थालाई आर्थिक रुपमा सशक्तिकरण गरेर ४ लाख बढी कोष स्थापना तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु समेत आयोजना गर्न सफल भएको उनको भनाइ छ । यसैगरी रुपन्देहीको तिलोत्तमास्थित लुम्बिनी लोक संग्राहलयको स्तरोन्नती लगायतका कामहरु भएको अध्यक्ष मगरले जानकारी गराए ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

सकेसम्म सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्नेगरी तयारी भैरहेको अध्यक्ष मगरले उल्लेख गरे ।