कपिलवस्तु,१८ मंसिर ।
कपिलवस्तुको निग्रोधराम कुदानमा आयोजित एकदिने निःशुल्क आँखा शिविरबाट ९७६ जनाले सेवा लिएका छन् ।

रोयल थाई मोनास्ट्री लुम्बिनी, तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, स्वर्णभूमि फाउण्डेशन, वाट थाई कपिलवस्तु निग्रोधराम नेपाल र नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुको सहयोगमा सम्पन्न भएको उक्त शिविरबाट ९७६ स्थानीय बासिन्दा लाभान्वित भएका हुन् ।

शिविरका क्रममा ३१५ जनामा मोतियाबिन्दु देखिएको र उनिहरूको शल्यक्रिया प्रक्रिया अघि बढाइने जनाइएको छ । श्रीलंकाबाट आएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. संजय गुरुङले शल्यक्रिया गर्ने कार्यक्रम रहेको तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौका कार्यक्रम अधिकृत महेश पराजुलीले जानकारी दिए ।

रोयल थाई मोनास्ट्री लुम्बिनीले कपिलवस्तुमा रहेका गरीब, दलित तथा असहाय समुदायका लागि १५ वर्षदेखि निःशुल्क स्वास्थ्य शिविर र आँखा शिविर सहित विभिन्न स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएकाे वाट थाई कपिलवस्तुका सचिव तथा लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताए ।

यस्ता प्रकारका सामाजिक तथा स्वास्थ्य सेवाका कार्यक्रमले आफ्नो दैनिक जीवनमा ठूलो सहुलियत पुगेको बताउँदै स्थानीयहरूले आगामी दिनमा पनि निरन्तरता रहने अपेक्षा व्यक्त गरेका छन् ।