बुटवल,१८ मंसिर ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले दुई दिनमा ६ लाख बढीको अवैध सामान बरामद गरेको छ ।
मंसिर १६ र १७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरेर ल्याइएका अन्दाजी ६ लाख ६ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–३ बाट ३ वटा भैसी, ११ वटा पाडी, रेडिमेट उलान कुर्ता ६० पिस, सिलाउने उलान कुर्ता ३० पिस, लेडिज पछौरा ४० पिस, नाईक लेखेको हुडी लगाएका सामानहरु गरी ४ लाख ५१ हजार रुपैयाँ बराबरको सामान तथा भैसी र पाडीहरु वेवारिसे अवस्थामा बरामद गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट मोटरसाईकल, कम्बोर्ड ट्वाइलेट सिट १ थान, स्वीटर ५ पिस, पोन्डस पाउडर ५० पिस, बोरो प्लस क्रिम २३ प्याकेट र दैनिक उपभोग्यका सामानहरु ५ बोरा गरी १ लाख ५५ हजार मूल्य बराबरको सामान बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको छ ।







