बुटवल,१८ मंसिर ।
गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा विभिन्न देशका २५ अर्बपतिहरू जुट्ने भएका छन् । ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष सुरेशकुमार मधुसुधानसहित विभिन्न देशका २५ अर्बपतिहरू लुम्बिनीमा जुट्न लागेका हुन् ।
यही मंसिर २४-२६ सम्म बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन उनिहरू लुम्बिनी आउने विश्व शान्ति कार्यक्रमले जनाएको छ ।
कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायत विभिन्न देशका २५ अर्बपतिहरू लुम्बिनीमा जुट्दैछन् ।
कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।उनकाअनुसार नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत,अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । साथै कार्यक्रममा लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहने जनाइएको छ ।
कार्यक्रम संयोजक शेखर गौतमका अनुसार साे अवसरमा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माणका विषयमा पनि छलफल हुनेछ । स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृतको आवाजमाथि कार्यक्रममा छलफल तथा बहस हुनेछ ।







