काठमाडौँ,१७ मंसिर ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ‘प्लेअफ’ नजिक पुगेको छ ।
बुधबार साँझ सम्पन्न खेलमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो । यो जितसँगै लुम्बिनीको प्लेअफको सम्भावना जिवित राखेको छ । गत सिजनमा पहिलो खेलमा विराटनगरले लुम्बिनीलाई पराजित गरेको थियो । त्यसपछि लुम्बिनीले लय गुमाएको थियो ।
यो हारसँगै विराटनगरको ‘प्लेअफ’को पुग्ने बाटो कठिन बनेको छ । लिग चरणमा विराटनगरले भोगेको यो दोस्रो हार हो । यसअघि विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो ।
विराटनगर ६ खेलमध्ये चार खेलमा जित र दुई खेलमा हार भोग्दै आठ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा यथावत छ । विराटनगरले लिग चरणको आफ्नो अन्तिम खेलमा शीर्षथानको सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ । विराटनगर र सुदूरपश्चिमको खेल शनिबार हुनेछ ।
लिग चरणमा तेस्रो जित निकालेको लुम्बिनीले अंक तालिकामा ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । चार अंक भएको पोखरा पाचौँ स्थानमा झरेको छ । लुम्बिनीको जितले पोखरा, चितवन र जनकपुरको प्लेअफ सम्भावना थप कठिन बनेको छ ।
लिग चरणको पहिलो खेलमा पोखरासँग तीन विकेटको जित निकालेपछि लुम्बिनीले लगातार तीन खेलमा हार व्यहोरेको थियो । लुम्बिनीले दोस्रो खेलमा सुदूरपश्चिमसँग सात विकेटले तथा काठमाडौँसँग २२ रनले र कर्णालीसँग नौ विकेटको हार व्यहोरेको थियो ।
लुम्बिनीले अघिल्लो खेलमा चितवनलाई ६ विकेटले हराउँदै लिगमा दोस्रो जित निकालेको थियो । लुम्बिनीले तीन खेलमा जित र तीन खेलमा हार भोगेको छ । अब प्लेअफको स्थान पक्का गर्न जनकपुर बोल्टससँगको खेल जित्नुपर्नेछ। लुम्बिनी र जनकपुरको खेल शुक्रबार हुनेछ ।








