छात्रवृत्तिले अध्ययनका लागि थप हौसला मिल्याे : विद्यार्थीहरु
बुटवल,१६ मंसिर ।
बुटवलका संस्थागत विद्यालयहरुमा निशुल्क छात्रबृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ ।

बुटवल उपमहानगरपालिकाले साेमबार एक कार्यक्रमकाबीच शैक्षिक सत्र २०८२/०८३ का लागि संस्थागत विद्यालयहरुमा निशुल्क चात्रबृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै छात्रवृत्ति प्राप्तिको प्रमाणपत्र प्रदान गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले निजि शिक्षण स्थाहरुबाट प्रदान गर्ने १० प्रतिसत छात्रबृत्ति बितरण प्रक्रिया पारदर्शी बनाउने स्थानीय तहमा बुटवल अग्रस्थानमा रहेको भन्दै छात्रवृत्ति बितरण प्रक्रिया पारदर्शी हुँदा लक्षीत बर्ग लाभान्वित हुने अवसर पाउने बताए ।
बुटवलले सार्वजनिक सूचना जारी गरी परिक्षा लिएर छात्रबृत्ति बितरण गर्ने ब्यवस्था मिलाएको बताउदै उनलेे पछिल्लो समय गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न बुटवल जानुपर्छ भन्ने भावनाकाे विकास भएको उल्लेख गरे । अन्य ठाउँमा स्थानीयले मात्रै छात्रवृत्ति पाउने प्राबधान रहेको भन्दै नगर प्रमुख पाण्डेयले बुटवलमा जुनसुकै जिल्ला र पालिकाका विद्यार्थीले पनि छात्रवृत्ति प्राप्त गर्न सक्ने बताए ।
शिक्षामा लगानी बढाएका कारण पछिल्लो समय बुटवल शैक्षिक हवको रुपमा स्थापित हुँदै गएको भन्दै उनले बुटवलले कूल बजेटको २६ प्रतिसत बजेट शिक्षामा छुट्टाएको जानकारी गराए ।
साे अवसरमा गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले गुणस्तरीय शिक्षाका साथै विभिन्न किसिमका अवसरहरूका कारण बुटवलमा विद्यार्थीहरूकाे आकर्षण बढेको भन्दै यसबाट छिमेकी जिल्ला तथा पालिकाका जनताले पनि लाभ लिनसक्नुपर्नेमा जाेड दिए । समृद्धिकाे मुख्य आधार शिक्षा भएको उल्लेख गर्दै उनलेे समय सापेक्ष शिक्षा नीति परिमार्जन गर्नुपर्ने अहिलेकाे आवश्यकता रहेको धारणा राखे ।
पछिल्लो पुस्ताका किशोर किशोरी तथा युवा युवतीहरूमा स्थिरता र सकारात्मक साेचमा कमि हुँदै गएको भन्दै नगर प्रमुख पन्थीले त्यसका लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सकारात्मक मानसिकता विकास गर्ने शिक्षाले मात्रै मुलुक समृद्ध बन्ने बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका शिक्षण संस्थाहरुको शिक्षा राम्रो भएका कारण बाहिरी जिल्लाहरुबाट पनि शिक्षाका लागि बुटवल आउने गरेको भन्दै निजि शिक्षण संस्थाहरुबाट प्रदान गर्ने छात्रबृत्ति बितरण पारदर्शी हुँदा गरिबीका कारण गुणस्तरीय शिक्षा हाशील गर्नबाट बन्चित हुनुपर्ने समस्या केही हदसम्म कम भएको बताइन् ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत यादवचन्द्र बिष्टले बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ वटा निजि शिक्षण संस्थाहरुबाट गत बर्ष ३३९ जना विद्यार्थीले छात्रबृत्तिमा उच्च शिक्षा अध्ययन गरिरहेको र यसबर्ष ३४६ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको जानकारी दिए ।
कार्यक्रममा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरू सारा ज्ञवाली,साहिल रिसाल,माेनिका खरेल,मुकेश गुप्ता,किस्मत डुम्रे,दर्शन पाैडेललगायतले छात्रबृत्तिमा पढ्न पाउँदा आफुहरुलाई अध्ययनमा थप हौसला मिलेको बताएका थिए ।








