काठमाडौँ,१५ मंसिर ।
नेपाली काँग्रेसले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकले पार्टीको १५ औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिए ।

मंसिर २० गतेसम्म नयाँ क्रियाशील सदस्य वितरण गरिसक्ने र पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको काम सकेर पुस १४ गते क्रियाशीलको सूची केन्द्रीय कार्यालयमा बुझाउने मिति तय भएको प्रवक्ता महतले बताए ।

बैठकले नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय समेत गरेको छ ।

आजको बैठकले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै एक महिनाको ग्रेस पिरियड राखेर केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थपिएको प्रवक्ता महतकाे भनाइ छ । काँग्रेसको वर्तमान कार्यसमितिको म्याद मंसिर २३ गते सकिदैछ ।

महाधिवेशन विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक सरिरहेको थियो ।