जिल्लामा पार्टी सदस्यता नवीकरण तथा बिस्तार कार्य अगाडि बढाउने तयारी
नवलपरासी,१४ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासी (बसुप) काे अगुवा नेता कार्यकर्ता भेला सम्पन्न भएको छ ।
आगामी दिनमा पार्टीलाई थप व्यवस्थित तरिकाले अगाडि बढाउन शनिबार नवलपरासी स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय पूर्व गोर्खा सैनिक संगठनका केन्द्रीय अध्यक्ष क्याप्टेन भीम बहादुर रानाले जिल्ला अध्यक्ष प्रेम बहादुर राना र बर्दघाट नगर अध्यक्ष शेरबहादुर थापालाई पार्टीका सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा “पार्टी सशक्तीकरण अभियान-२०८२” अन्तर्गत जिल्लामा “सदस्यता नवीकरण”का लागि फारम, लेटर प्याडको नमूना, पार्टी सदस्यता अभिलेखीकरणका लागि दर्ता किताबको नमूना र नयाँ बन्ने सदस्यहरुका लागि पार्टी सदस्यता पत्र जिल्ला र नगरलाई बुझाएकाे साे पार्टीले जनाएको छ ।
साे अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष राना,केन्द्रीय सदस्य मीनमाया थापा, पूर्व केन्द्रीय सदस्य लुम बहादुर खाम्चालगायतले पार्टीको हालै सम्पन्न केन्द्रीय समिति र कार्यसम्पादन समितिले गरेका निर्णय र आगामी योजना बारे जानकारी गराएका थिए ।
यससँगै नवलपरासी (बसुप) मा जिल्लाव्यापीरूपमा पार्टी सदस्यता नवीकरण तथा सदस्यता बिस्तार कार्यक्रम अगाडि बढ्ने जिल्ला अध्यक्ष प्रेम बहादुर रानाले बताए ।








