बुटवल,१४ मंसिर ।
बुटवल उपमहानगरपालिकाकाे “छाेरी पढाऔं,समाज बनाऔं” अभियान अन्तर्गत छाेरी प्राविधिक शिक्षा कार्यक्रम प्रभावकारी हुने सराेकारवालाहरूले बताएका छन् ।

आइतबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित बुटवल टेक्निकल इनस्टिच्युट (बिटिआई) मा प्राविधिक शिक्षा अध्ययनरत छात्राहरूसँगकाे अन्तरक्रिया कार्यक्रमका बाेल्दै जनप्रतिनिधिलगायतका सराेकारवालाहरूले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले महिलाहरूलाई सीप र राेजगारीसँग जाेडेर आत्मनिर्भर बनाउने उदेश्यले “छाेरी पढाऔं,समाज बनाऔं “अभियान अन्तर्गत छाेरी प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेको भन्दै हाल ४० जना छात्राले बिटिआईमा निशुल्क प्राविधिक शिक्षा अध्ययन गरिरहेको जानकारी गराए ।

नगरवासीलाई सीप र राेजगारीसँग जाेडेर आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आइरहेको भन्दै उनलेे सीप सिकेका काेही पनि बेरोजगार बस्नुपर्ने अवस्था नरहेको बताए ।

कुनै समय बिटिआईमा अध्ययन गर्न नाम निकाल्न कठिन हुने गरेकाे स्मरण गर्दै नगर प्रमुख पाण्डेयले पछिल्लो समय विद्यार्थी संख्या घट्दै गएको अवस्थामा पैसाको अभावमा प्राविधिक शिक्षा हाशील गर्न असमर्थ रहेका छात्राहरूलाई सीपमूलक तथा राेजगारमूलक प्राविधिक शिक्षा प्राप्त गर्न सहज हुने र बिटिआई पनि नियमित रूपमा सञ्चालन गर्ने उदेश्यले छाेरी प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे ।

देशमा दक्ष जनशक्तिको अभाव भैरहेका बेला बुटवल उपमहानगरपालिका र बिटिआईकाे सहकार्यमा सञ्चालन गरिएको छाेरी प्राविधिक शिक्षा कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले सीपको अभावमा महिलाहरू आर्थिक रूपमा पुरूषप्रति भर पर्नुपरेकाे भन्दै सीप मार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले छाेरी प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेको बताइन् ।

प्राविधिक ज्ञान र सीप भएका काेही पनि बेरोजगार बस्न नपर्ने भन्दै उनलेे बिटिआईमा अध्ययनरत छात्र छात्राहरू सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत रहनुकासाथै कैयौं स्वराेजगार मार्फत आर्थिक रूपमा सम्पन्न भएको उदाहरण प्रस्तुत गरिन् । उनलेे पनि छाेरी प्राविधिक शिक्षा कार्यक्रम थप प्रभावकारी हुने विश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा उपनिर्देशक टिकाराम पन्थीले साधारण शिक्षा बेरोजगार उत्पादन गर्ने थलोकाे रूपमा विकास भएको भन्ने आराेप खेपेका बेला निशुल्क छाेरी प्रविधिक शिक्षा प्रभावकारी हुने बताए ।

बिटिआईका निमित्त निर्देशक मानकाजी कुमालले देशमा दक्ष जनशक्तिको माग उच्च रहेको भन्दै प्राविधिक ज्ञान र सीप भएका जाे काेही पनि बेरोजगार बस्नुपर्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा उपमहानगरपालिकाकाे सहयोगमा बिटिआईमा अध्ययनरत छात्रा विष्णु नेपालीलगायतका प्रशिक्षार्थीहरूले बुटवल उपमहानगरपालिकाले देशमै पहिलोपटक निशुल्क छाेरी प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेकोमा खुसी ब्यक्त गरेका थिए ।