बुटवल,१४ मंसिर ।
बुटवलमा भोली (सोमबार)देखि प्रथम सहिद लखन थापा स्मृति दोस्रो खुल्ला पुरुष भेलिबल प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल युवा मगर संघ बुटवल उपमहानगर पालिका वडा नम्बर ७ ले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।

मगर समुदायले हरेक वर्ष मनाउने पीतृ (बाजे-बज्या) पूजाको अवसरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ८ समुहले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष कुमार राना मगरले जानकारी दिए ।

दिपनगरस्थित खैल मैदानमा प्रतियोगिता हुने प्रतियोगितामा बिभिन्न क्लब तथा समुहले ३ जनासम्म राष्ट्रिय खेलाडीलाई समावेश गर्न पाउने भएकाले रोमाञ्चक प्रतिस्पर्धा हुने अध्यक्ष रानाको भनाइ छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं–७ का वडा अध्यक्ष पदम गाहाले मगरहरुको पहिचान र ईतिहासलाई स्मरण गर्दै आयोजना गरिएको प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयकाे पनि सहयोग रहेको जानकारी गराए । प्रथम प्रतियोगिता कम रकममा सञ्चालन गरिए पनि यसपटक यथेष्ट सहयोग जुटेको बताए । आगामी दिनमा पुरस्कार राशि थप बृद्वि गर्न आफ्नो तर्फबाट पनि सहयोग रहने आश्वासन दिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने दिलिप थापाले जानकारी दिए । यसैगरी तेस्रो र सान्त्वना हुने समुहले क्रमशः नगद २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न विधागत रुपमा समेत पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा विभिन्न दाताहरुबाट संकलित रकमबाट आयोजना गर्न लागिएको प्रतियोगिका लागि करिब १० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताभर खेल हेर्नका लागि ३० सय बढी दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा दर्शकले निःशुल्क अवलोकन गर्न पाउने आयोजकले जानकारी गराएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते पीतृ पूजाका दिन हनेछ । मगर समुदायले बुटवलमा हरेक वर्षमा मंसिर महिनामा पीतृ पूजा गर्ने प्रचलन रहेको छ ।

प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएको संस्थाका संरक्षक विष्णु थापा झेंडी मगरले जानकारी दिए । प्रथम सहिद लखन थापालाई पीतृको रुपमा प्रतियोगिता आयोजना गरिएको उनलेे बताए ।