काठमाडौँ,१२ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओम प्रकाश अर्यालबीचको वार्ता मंसिर २२ गते प्रधानमन्त्रीसहित बस्नेगरी टुंगिएको छ ।
शुक्रबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा अर्याल र प्रसाईंसहितको छलफल भएको थियो । २२ गते प्रधानमन्त्रीसँगकाे वार्तामा प्रसाईंका मागसँग सम्बन्धित मन्त्रालयका मन्त्री पनि सहभागी हुने जनाइएको छ ।
वार्तापछि प्रसाईंले भने, ‘हामीले उठाउँदै आएका मागका विषयमा छलफल भयो । अब २२ गते लघुवित्त, सहकारीका विषयमा सरकार कति जिम्मेवार बन्ने भन्ने कुरा भयो । योसँगै जनमत संग्रहमा जाने, प्रदेश खारेज गर्नेलगायत हामीले उठाउँदै आएको कुरा अब प्रधानमन्त्रीसहितको वार्तामा कुरा हुन्छ ।’
प्रसाईँले आफ्ना मागका बारेमा गृहमन्त्रीलाई जानकारी गराएका थिए । गृहमन्त्रीले केही मागहरु तत्कालै पूरा गर्न सकिने खालका रहेको र कतिपय माग पूरा गर्न समय लाग्ने जवाफ दिएका छन् ।
तत्काल पूरा गर्न सकिने माग पूरा गर्ने र बाँकी मागका विषयमा थप छलफल तथा अध्ययन गर्ने बताएको प्रसाईंले बताए ।
दुर्गा प्रसाईं नेतृत्वको महाअभियान र सरकारबिच पहिलो चरणमा मंसिर ६ गते राति सहमती भएको थियो । बालुवाटारमा प्रधानमन्त्रीका सल्लाहकार र प्रसाईंका प्रतिनिधिबिच भएको वार्तामा छलफलबाटै सहमती खोज्ने र ७ गते घोषणा गरेको आन्दोलन स्थगित गर्ने सहमती भएको थियो । त्यतिबेला प्रसाईं हिरासतमा थिए ।
उनलाई सरकारले सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतले प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो । रिहा भएको केही दिनमा प्रसाईं र गृहमन्त्री अर्यालबिच छलफल भएको हो । छलफल सकारात्मक भएको प्रसाईंले बताएका छन् ।








