बुटवल,१२ मंसिर ।
बुटवलको नयाँगाँउ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले कानुन सम्मत रुपमा गरिएको जनाएको छ । संस्थामा कुनै पनि किसिमको अनियमितता समेत नभएको संस्थाको दाबी छ ।

शुक्रबार खानेपानी संस्थाले पत्रकार सम्मेलनको आयोजना गरि बाहिर हल्ला गरिए जस्तो साधारणसभा गैरकानुनी र अनियमितता भएको भन्ने कुरामा सत्यता नभएको जानकारी गराएको हो ।

कार्यक्रममा खानेपानी संस्थाकी अध्यक्ष मिना जिसिले ३ वर्षसम्म हुन नसकेको साधरणसभा आफु निर्वाचित भएको ९ महिना भित्रमा नै गर्न सफल भएको भन्दै योजनामा अनियमितता भयो भन्नु दुर्भावना प्रेरित तथा पुर्वाग्रही आरोप मात्रै भएको बताइन् । ‘नयाँगाँउ खानेपानीको ३ वर्षदेखि साधारणसभा नै भएको थिएन्, मेरो नेतृत्वको कार्यसमितिले ९ महिनामा नै साधारणसभा गरेको छ, यसमा त हामीलाई धन्यवाद पो दिनु पर्ने हो, तर उल्टै अफवाह फैलाइयो’– अध्यक्ष जिसिले भनिन् । आफ्नो नेतृत्वको कार्यसमितिले पानीको शुल्क समेत घटाएको भन्दै अध्यक्ष जिसिले पहिला १२ हजार लिटर पानीको शुल्क १०० रहेकामा आफुहरुले यसलाई घटाएर ८० रुपियाँ कायम गरेको जानकारी दिइन् ।

साथै अध्यक्ष जिसिले बाहिर कुरा गर्न भन्दा पनि संस्थाको आधिकारिक बैठक तथा साधारणसभामा आएर आफ्ना भनाई राख्न परिषद् सदस्यहरुलाई आग्रह गरिन् । ‘केही असन्तुष्टि छन् भने साधारणसभामै राखेको भए राम्रो हुने थियो, राम्रा सुझाव र सल्लाहलाई हामी आत्मसाथ गर्न तयार नै छैँ, संस्थाको दिर्घकालिन हित हुने केही योजना छन् भनेर कार्यालयमा आएर भनुस् त्यसलाई पुरा गछौँ,’–उनले भनिन् ।

खानेपानी संस्थाका कानुनी सल्लाहाकार लेखनाथ ढकालले कानुनमा नै स्पस्ट रुपमा ५०० भन्दा बढी उपभोक्ता भएको संस्थाको साधारणसभा परिषद् सदस्यद्वारा गर्ने व्यवस्था रहेको भन्दै ४८०० उपभोक्ता भएको संस्थामा ५१ प्रतिसत बढी सदस्य उपस्थित गराउन सम्भव नहुने बताए । ‘खानेपानीमा ४८०० उपभोक्ता हुनु हुन्छ, तर, उपभोक्तासहितको साधारणसभामा बहुमत सदस्य उपस्थित हुने सम्भावना नै हुँदैन्, बहुमत सदस्य विना गरिने साधारणसभालाई कानुनले चिन्दैन्, यो कुरा माग गर्नेहरुलाई पनि थाहा छ,’–उनले भने ।

खानेपानी संस्था अन्तर्गत बँदेल पोखरी टंकी मर्मत उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद भुसालले निर्माणको काममा कुनै पनि आर्थिक अनियमितता भएको भने कुरामा सत्यता नरहेको दाबी गरे । समयमा मजदुर नपाउँदा टंकी मर्मतको फिनिसिङ्ग गर्न केही समय रोकिएको र त्यसलाई देखाएर अनियमितता भयो भन्नु आफैमा गलग भएको बताए । अहिले मर्मतको काम पूर्ण रुपमा सम्पन्न भइसकेको र योजनाको लागत स्टिमेट,सम्पूर्ण बिल भरपाईलगायतका कागज पत्र कार्यालयमा सूरक्षीत रहेको उनले जानकारी गराए ।

बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले काम गर्दा विभिन्न उजुरी पर्नु सामान्य भएको भन्दै कानुुन बमोजिमको काम गर्न डराउन नहुने बताए ।

खोनपानी संस्थाको १६ औँ साधारणसभा गत कार्तिक २६ गते सम्पन्न भएको थियो ।

यसअघि २६ जना परिषद् सदस्यहरुले संस्थामा अनियमितता भएको र सबै उपभोक्तासहितको साधारणसभा गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार डि आर घिमिरे,सचिव रामप्रसाद भुसाललगायतले संस्थाकाे बिषयमा बाहिर कुरा गर्नुभन्दा संस्थाको आधिकारिक फाेरममा कुरा राख्नुपर्ने बताए ।