काठमाडौँ,११ मंसिर ।
जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५ सय ९५ जनालाई पक्राउ गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालसम्म ५९५ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए । बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन ब्यवस्थापन समितिको बैठकमा उनले उक्त कुराकाे जानकारी गराएका हुन् । उनलेे भने– ‘अपराधमा संलग्नहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका छौँ ।’

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल सहित सबैलाई विश्वासमा लिएर चुनाव सम्पन्न गर्नेतर्फ सरकार अघि बढेको गृहमन्त्री अर्यालले समितिलाई जानकारी गराए ।

अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको भन्दै मन्त्री अर्यालले औपचारिक र अनौपचारिक रूपमा अहिलेको सरकारले राजनीतिक दलहरूसँग संवाद गरिरहेको बताए ।

धेरै भन्दा धेरै लुटिएका हात हतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको उल्लेख गर्दै मन्त्री अर्यालले भने– ‘फरार कैदी बन्दी र लुटिएका हतियारले गर्दा नै चुनाव प्रति विभिन्न शङ्का उपशङ्का राख्नु पर्ने स्थिति छैन ।’

मन्त्री अर्यालका अनुसार हालसम्म ७ सय २३ थान हतियार फिर्ता आएको छ । बैठकमा समितिका सदस्यहरू नरबहादुर विष्ट, मदनकुमारी शाह, मदनबहादुर परिवार, कृष्णप्रसाद अधिकारी, रुक्मिणी कोइराला, युवराज शर्मा, सुमित्रा बिसी र रेणु चन्द लगायतले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा आफ्ना धारणा राखेका थिए ।