काठमाडौँ,१० मंसिर ।
सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सबैभन्दा धेरै विकेट लिनेमा शीर्षस्थानमा पुगेका छन् ।
विराटनगर किंग्सका कप्तान समेत रहेका लेग स्पिनर सन्दीपले चार खेलमा नौ विकेट लिएका हुन् । ब्याटर झुक्किने गरी अफ स्टम्प टर्न हुने गुगली उनको सबैभन्दा घातक हतियार मानिन्छ । यसले गर्दा ब्याटर ठूलो सट खेल्न सक्दैनन् ।
बलिङको गति र लेन्थमा राम्रो नियन्त्रण राख्ने उनको खुबी विशेष छ । उनको खेलशैली दायाँ हाते लेग ब्रेक हो ।
जनकपुर बोल्ट्सविरुद्धको खेलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले बुधबार चितवन राइनोजविरुद्ध दुई विकेट लिए । यससँगै उनले लिएको विकेट संख्या नौ पुगेको हो ।
उनी विराटनगर टिमका मार्की खेलाडी पनि हुन् । विराटनगरसँग कति पैसामा अनुबन्धित भए भन्ने खुलाएको छैन । एनपीएलको अघिल्लो संस्करणमा फ्रेन्चाइज र मार्की खेलाडीबीच २० लाख रुपैयाँ हाराहारीमा सम्झौता भएको नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको थियो । यो पटक मार्की खेलाडीको शुल्क अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
सामान्यतः अन्य खेलाडीभन्दा मार्कीले बढी पैसा लिन्छन् । फेरि टी-२० अन्तर्राष्ट्रिय खेलमा सन्दीप विश्वका उत्कृष्ट बलरमध्ये पर्छन् ।
एनपीएलको पहिलो सिजनमा सन्दीपले ६ विकेट लिएका थिए । अहिले जारी दोस्रो सिजनमा नौ विकेट लिइसकेका छन् ।
त्यसपछि सात विकेट लिने तीन खेलाडी छन् । काठमाडौँ गोर्खाजका मिलिन्द कुमार, विराटनगर किंग्सका मर्चेन्ट डि लाङ्गे र काठमाडौँका करण केसीले सात–सात विकेट लिएका छन् ।
जारी लिगमा सबैभन्दा बढी रन चितवन राइनोजका रवि बोपाराले बनाएका छन् । उनले तीन खेलमा १८३ रन बनाएका छन् । उनले तीनै खेलमा लगातार अर्धशतक हानेका हुन् ।
त्यस्तै, दोस्रो नम्बरमा कर्णाली याक्सका मार्क वाट छन् । उनले तीन खेलमा १४७ रन बनाएका छन् । तेस्रो नम्बरमा रहेका विराटनगर किंग्सका लोकेश बमले १२१ रन बनाएका छन् ।








