काठमाडौँ,१० मंसिर ।
संयुक्त अरब इमिरेट्स (यूएई) काे भिसाका लागि अब ‘प्रहरी रिपोर्ट’ अनिवार्य हुने भएको छ ।
काठमाडौंस्थित यूएई दूतावासले भिजिट र श्रम भिसाका लागि नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम लागू गरेको हो ।
दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन अब नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि सुरक्षा कारण देखाउदै यूएईले नेपालीका लागि भिजिट र श्रम भिसा जारी गर्न बन्द गरेको थियो । यद्यपि दुतावासले यसको औपचारिक जानकारी भने नेपाललाई दिएको थिएन ।
यूएई दूतावासले अहिले भने सबै प्रकारका भिसा खुल्ला गरिएको जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रहरी रिपोर्ट लिई नेपालीका लागि भिसा खुल्ला गर्न नेपाल सरकारलाई अनुरोध गर्दै आएको थियो ।
भिसा बन्द हुँदा यूएई सरकारबाटै वर्क परमिट (श्रम अनुमति) जारी गरिएका झन्डै ५ हजार नेपाली श्रमिक रोकिएका छन् । उनीहरूको वर्क परमिटको अवधि सकिँदैछ ।
यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेमध्ये झन्डै ४० प्रतिशत यूएई जाने गर्छन् । आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकअनुसार यूएई जानका लागि २ लाख १ हजार १४८ जनाले श्रम स्वीकृति लिएका थिए ।








