प्रहरीले गेटबाटै फर्कायो जेनजी समूहलाई

काठमाडौँ,९ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार प्रवेश गर्ने खोजेको जेन-जी समूहलाई प्रहरीले गेटबाटै फर्काइदिएको छ । मिराज ढुंगानासहितको जेन-जी समूह मंगलबार बिहानै सिंहदरबार छिर्न खोजेको थियो । तर निषेधित क्षेत्र भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले सचिवालयमा आफन्त नियुक्त गरेको भन्दै विभिन्न जेन–जी समूहले विरोध जनाएका छन् ।

जेन–जीहरू सोमबार ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय पनि पुगेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेन–जी पुगेपछि कार्की बाहिरिएकी थिइन् ।

मिराज ढुंगानालगायतका जेन–जीको समूहले पनि प्रमुख स्वकीय सचिवसहितका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार प्रवेश गर्न नपाएपछि गेटमा नै ज्ञापनपत्र टाँसेर उनीहरू फर्किएका छन् ।