बुटवल,८ मंसिर ।
रूपन्देहीको तिलाेत्तमा स्थित एक सुधार केन्द्रमा राखिएका व्यक्तिको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा–८ चार नम्बरका २७ वर्षीय नारायण ढकाल रहेका छन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीमा स्थित करुणा चौतारी फाउन्डेसनद्वारा संचालित (लागूऔषध) मध्यपान उपचार तथा पुनःस्थापना केन्द्रमा उपचाररत ढकालको आइतबार मृत्यु भएको हो ।

गत कार्तिक २५ गतेदेखि पुनःस्थापना केन्द्रमा राखिएका ढकालको केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएका बिरामीको कुटपिटबाट मृत्यु भएको आफन्तकाे आरोप छ । केन्द्रले भने ढकाल भवनमाथिबाट हाम फालेर भाग्नेक्रममा लडेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको आफन्तलाई जानकारी गराएको थियो ।

ढकालको सुधार केन्द्रभित्र कुटपिटबाटै मृत्यु भएको भन्दै उनका परिवारले सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । पीडितको जाहेरीपछि केन्द्रका कर्मचारी र त्यहाँ उपचारका लागि राखिएका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्र रानाले तत्काल ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । प्रहरीले केन्द्रका कर्मचारी आशिष विकसहित कर्मचारी र उपचाररत बिरामीलाई नियन्त्रणमा लिएको छ ।

पीडितका मामा रामगोपाल भण्डारीले भान्जालाई १३ दिनअघि सुधार केन्द्रमा राखिएको र त्यसपछि परिवार र आफन्त कसैलाई पनि भेट गर्न नदिइएको र मृत्यु भएपछि मात्र खबर गरेको बताएका छन् ।

बेलायतमा बस्दै आएका ढकाल लागूऔषध दुर्व्यसनमा परेपछि उपचारका लागि नेपाल आएका थिए । उनलाई कार्तिक २५ गतेदेखि परिवारले सुधार केन्द्रमा राखेका हुन् ।

केन्द्रले चौतारी हस्पिटल प्रालिका नाममा नशा, स्नायु तथा मोनोरोग अस्पताल पनि संचालन गर्दै आएको छ । घटनापछि अस्पतालका कार्यकारी निर्देशक किरण ढकालकाे मोबाइल स्विच अफ रहेको छ । अस्पतालका अन्य कर्मचारी सम्पर्कमा आएनन् । सुधार केन्द्रमा राखिने नयाँ बिरामीलाई पुराना र निको हुँदै गएका बिरामीलाई हेरचाहको जिम्मेवारी दिने गरेकाले त्यही क्रममा विवाद भएर कुटपिट भएको र त्यसपछि मृत्यु भएको मृतकका आफन्तले दाबी गरेका छन् ।