बुटवल,८ मंसिर ।
लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु भएको छ ।
सातौँ अधिवेसनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले जेनजी आन्दोलन,त्यसपछि बिकसित घटनाक्रम र दलहरूले आगामी दिनमा गर्नुपर्ने सुधार बारे आ आफ्नो धारणा राखेका थिए ।
बैठकमा जेनजी युवाहरूले उठाएका एजेन्डा सहि भए पनि आन्दोलनका नाममा भएको बिध्वंसात्मक कार्यकाे भने प्रदेश सभा सदस्यहरूले बिराेध गरे ।
राजनीतिक दलहरूका गलत क्रियाकलापका कारण जेनजी युवाहरू आन्दोलनमा उत्रने वातावरण तयार भएको भन्दै उनिहरूले बिगतका कमिकमजाेरीबाट पाठ सिकेर राजनीतिक दलहरू पनि सच्चिन जरुरी रहेकोमा जाेड दिए ।
जेनजी आन्दोलनपछि प्रतिनिधि सभा बिघटन भई संघमा गैर दलीय सरकार बनेको अवस्थामा जनप्रतिनिधिमूलक संस्था प्रदेश सभाको भुमिका अझ बढेको भन्दै उनिहरूले प्रतिनिधि सभा नरहेको अवस्थामा प्रदेश सभाले जनप्रतिनिधिमूलक संस्थालाई अभिभावकत्व प्रदान गर्नुपर्ने बताए ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक जमुना ढकाल ,एमाले प्रमुख सचेतक तुलसी प्रसाद चाैधरी,नेपाली कम्युनिस्ट पार्टीका नेता इन्द्रजीत थारू,जनमत पार्टीका नेता चन्द्रकेश गुप्ता,प्रदेश सभा सदस्यहरू भण्डारीलाल अहिर,जानकी प्रसाद यादव ,हेमा बेलबासे,अम्बिका काफ्लेले आ आफ्नो धारणा राखेका थिए ।
साेमबार दिउँसो १ बजे बाट सुरु भएको सातौँ अधिवेसनको पहिलो बैठककाे सुरुमा सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाएका थिए । ती पत्रमा सातौँ अधिवेशन आह्वान सम्बन्धी सूचना, मन्त्रिपरिषद् पूनर्गठनबारे पत्र र छैठौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र रहेका छन् ।
बैठकमा अहिले दलीय आधारमा प्रदेश सभा सदस्यहरूले सम्बाेधन गरिरहेका छन् ।
यहि हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएका छन् ।
प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेश गर्न स्वीकृती दिएको छ ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो ।
लुम्बिनीमा गत भदौ ३१ गते छैठाैँ अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।








