दाङ,८ मंसिर ।
लुम्बिनी प्रदेश सभा सचिवालयले दोस्रो कार्यकालमा १५ वटा पारित गरेको छ ।

प्रदेश सभा सचिवालयले साेमबार पत्रकार सम्मेलन गरि प्रदेश सभाको दाेस्राे कार्यकालमा सम्पन्न भएका काम, कार्यबाही र उपलब्धिहरू सार्वजनिक गर्दै उक्त कुराकाे जानकारी गराएको हो ।

सातौं अधिवेसन सुरुहुनुअघि सोमबार प्रदेश सभा सचिवालय राप्ती उपत्यका(देउखुरी) मा पत्रकार सम्मेलनमार्फत सचिवालयले विधेयक निर्माणदेखि बिषयगत समितिका गतिविधि, प्रशासनिक प्रगति तथा अन्तर्राष्ट्रिय सहकार्यसम्मका विवरण प्रस्तुत गरेको थियो ।

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा १९ वटा विधेयक दर्ता भएकाे र तीमध्ये १५ वटा पारित भएकाे प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । पारित विधेयकमध्ये १४ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेकाे पनि प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार दुई विधेयक सदनमा प्रस्तुत हुन बाँकी छ भने दुई विधेयक लगतकट्टा भएका छन् । एक विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको छ । यस अवधिमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी भई कार्यान्वयनमा आएका छन् ।

वार्षिक नीति तथा कार्यक्रम, बजेट, विधेयक निर्माण र कार्यान्वयनमा सहयोग गर्दै प्रदेश सभा सक्रिय रूपमा कार्यरत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जनमैत्री, जिम्मेवार र प्रभावकारी प्रदेश सभा निर्माण सचिवालयको दीर्घकालीन लक्ष्य रहेको सचिवालयले जनाएको छ ।

संविधान र सम्बन्धित कानुनअनुसार सचिवालयले प्रशासनिक तथा आर्थिक व्यवस्थापन, भौतिक संरचना, सुरक्षा व्यवस्था, सूचना प्रणाली सुदृढीकरण तथा सदस्य सेवा–सुविधासम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्दै आएको प्रदेश सभा सचिव पुन मगरले बताए ।

उनका अनुसार सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानून समिति, कृषि–वन तथा वातावरण समिति, भौतिक पूर्वाधार तथा विकास समिति, सामाजिक विकास समिति, अर्थ–उद्योग–पर्यटन समिति र विशेषाधिकार समितिले आफ्नो कार्यक्षेत्रअनुसार छलफल, अनुगमन र निर्देशनसम्बन्धी काम गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमध्ये पहिलो चौमासमा मुख्यतः चालु खर्च हुने क्रम जारी रहेको र पूँजीगत खर्च सुरु हुन बाँकी रहेको उल्लेख गरिएको छ ।

‘प्रदेश सभामा पहुँच कार्यक्रम’ अन्तर्गत २५० भन्दा बढी विद्यार्थी र शिक्षकले प्रदेश सभाको अवलोकन गरेकाे प्रदेश सभा सचिवालयका प्रवक्ता लोकमणी पाण्डेले जानकारी दिए ।