बुटवल,७ मंसिर ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलले वर्तमान सुशिला कार्की नेतृत्वको सरकार साम्राज्यवादी तथा विस्तारवादीहरुको कठपुतली सरकारलाई अपदस्त गरी देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुको नेतृत्वमा संयुक्त स्वाधीन सरकारको गठन गर्न सार्वजनिक आव्हान गरेकका छन् ।
पार्टीको पाँच नम्बर ब्युरोद्वारा आइतबार बुटवलमा आयोजित जनसभालाई सम्बाेधन गर्दै स्थायी समिति सदस्य पाैडेलले बर्तमान सरकार साम्राज्यवादी तथा विस्तारवादीहरुको कठपुतली भएको आराेप लगाउदै यो सरकारलाई अपदस्त गरेर देशभक्त,प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुको नेतृत्वमा संयुक्त स्वाधीन सरकारको गठन गर्न सार्वजनिक आव्हान गरेका हुन् ।
भष्ट्रचारी पार्टीहरुका कारण जेनजी बिद्रोह भएको उल्लेख गर्दै अब उनलाई क्रान्तिकारी बिद्रोहमार्फत देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न आवश्यक रहेको बताए । त्यसका लागि राष्ट्रिय राजनीतिक सम्मेलन गर्नुपर्नेमा उनलेे जाेड दिए ।
उनलेे भने,“साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गरि वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकारले मात्रै निकास दिन्छ ।”
यसप्रकारको सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनजीविका तथा जनवादका समस्या हल गरी अग्रगमनको बाटो खोल्ने उनको भनाइ छ । यसका लागि जुन हदसम्म नीतिहरु मिल्न सक्छन्, त्यो हदसम्म विभिन्न पार्टी, संगठन, समूह तथा व्यक्तिहरुका बीचमा संयुक्त मोर्चा बनाएर तलसम्म जनतालाई आन्दोलित बनाउनु आजको आवश्यकता रहेको
बताए ।
कार्यक्रममा बामपन्थी नेता प्रेम सुवेदीले स्वाधीन संयुक्त सरकारको पक्षमा देश एकताबद्ध हुने समय आएको बताए । भदौ २३ /२४ को घटनालाई दाेस्राे काेतपर्वकाे संज्ञा दिदै उनलेे ४ सय सेना भएको सिंहदरबार ४०/५० जना युवाहरूले कसरी जलाउन सम्भव भयो भनी प्रश्न गरे । त्यसको जवाफ इतिहासले खाेज्ने उनको भनाइ छ । मुलुककाे साझा हितका लागि साझा धारणा बनाउन जरुरी रहेको भन्दै उनलेे त्यसका लागि राष्ट्रिय राजनीतिक सम्मेलन गर्नुपर्नेमा जाेड दिए ।
सो अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य कृष्ण केसीले नयाँ जनवादको खुड्किलो पार गरेर बैज्ञानिक समाजवादमा देशलाई लैजानुको बिकल्प नभएको उल्लेख गरे ।
कार्यक्रममा पार्टीका बैकल्पिक पोलिटब्यूरो सदस्य दीपक पौडल, पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका क्रान्तिकारी किसान महासंघ नेपालका सचिव क्षेत्र बहादुर थापा, क्रान्तिकारी महिला संगठन नेपालकी नेतृ लक्ष्मी न्यौपानेलगायतले बोल्दै वर्गीय मुक्तिका लागि सबै तह र तप्काबीच कार्यक्रम लिएर पुग्नुपर्ने बताए ।
पार्टीका बैकल्पिक पोलिटब्यूरो सदस्य एंव ब्यूरो सचिव जितामित्र सुनारकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेल, पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सचिव रवि पाण्डेयलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
सभा शुरु हुनू पूर्व बसपार्कबाट निकालिएको जुलुस , पुष्पलाल पार्क ,ट्राफिक चोक हुदै बीपीचोकमा पुगेर सभामा परिणत भएको थियो । जुलुसमा स्वाधीन संयुक्त सरकार गठन गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, कठपुतली सरकार खारेज गर जस्ता चर्का नाराबाजी समेत गरिएको थियो ।
बुटवलको बिपीचोक सहित महेन्द्रनगर, धनगढी सुर्खेत, घोराही, बागलुङबजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभाहरुको सम्पन्न गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ ।








