बुटवल,७ मंसिर ।
स्वाधीन संयुक्त सरकार गठनको अपिल गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज बुटवलसहित देशका १६ शहरमा भण्डाफोर जनसभा गर्ने भएको छ ।

सुशिला कार्की नेतृत्वको वर्तमान सरकारलाई साम्राज्यवादी तथा विस्तारवादीहरुको कठ्पुतली सरकारकाे संज्ञा दिदै आएको साे पार्टीले बर्तमान सरकारलाई अपदस्त गरी साम्राज्यवाद र विस्तारवादविरोधी सच्चा देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुको नेतृत्वमा संयुक्त स्वाधीन सरकार गठनकाे माग गर्दै आव मंसिर ७ गते देशव्यापी रुपमा भण्डाफोर जनसभाको आयोजना गरिएको जनाएको छ ।

पार्टीले मंसिर ७ गते आज बुटवलको बिपीचोक सहित महेन्द्रनगर, धनगढी सुर्खेत, घोराही, बागलुङबजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभाहरुको आयोजना गरेको हो । जनसभालाई पार्टी महासचिव गौरवसहित स्थायी समिति सदस्यहरु र पोलिटब्यूरो सदस्यहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको साे पार्टीले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हेडक्वार्टर स्रोतका अनुसार मंसिर महिनाभरि भ्रष्टाचारी र दलालहरुको भण्डाफोर गर्ने कार्यक्रम बनाइएको छ ।

वर्तमान कठ्पुतली सरकारलाई हटाएर संयुक्त स्वाधीन सरकारको गठन गर्द आव्हान तथा अपिल गर्दै सो पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको अपिलमा भनिएको छ, “साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार आजको तत्कालीन राजनीतिक निकास हो । यसप्रकारको सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनजीविका तथा जनवादका समस्या हल गरी अग्रगमनको बाटो खोल्ने छ । यसका लागि जुन हदसम्म नीतिहरु मिल्न सक्छन्, त्यो हदसम्म विभिन्न पार्टी, संगठन, समूह तथा व्यक्तिहरुका बीचमा संयुक्त मोर्चा बनाएर तलसम्म जनतालाई आन्दोलित बनाउनु आजको आवश्यकता हो ।”

सो अपिलमा भनिएको छ, “भष्टाचारका विरुद्धको संघर्ष हाम्रो पार्टीको एजेण्डा हो । आषाढ ५ गतेदेखि हाम्रो पार्टीले “भ्रष्टाचार विरुद्धको अभियान” शुुरु गरेको थियो । जेनजीले भ्रष्टाचारको अन्त्य गर्ने र सामाजिक संजाल माथिको प्रतिबन्ध फुकुवा गर्ने माग राखी चलाएको आन्दोलनप्रति हाम्रो समर्थन रहेको थियो । तर जेनजीको नाममा साम्राज्यवादका दलालहरुले गरेको विध्वंशप्रति हाम्रो पार्टी विरोध गर्दछ । जेनजीको नाममा साम्राज्यवादका एजेण्टहरु सरकारमा पुगेका छन् । यसरी पहिलेको तुलनामा आज राष्ट्रिय स्वाधीनता माथिको खतरा कैयौं गुना बढेको छ ।”