नवलपरासी,६ मंसिर ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्लाकाे कावासोती नगरपालिका–१६ डण्डा बजारमा गएराति १० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना.४३ प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।