काठमाडौं,६ मंसिर ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानले घाेषणा गरेको भाेली मंसिर ७ गतेदेखिकाे आन्दोलनले नयाँ माेड लिएको छ ।
राष्ट्र,राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानले घाेषणा गरेको भए पनि आन्दोलन अब संयुक्त जनआन्दोलन समितिकाे ब्यानरमा हुने र राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाली कांग्रेस (वीपी),केशरबहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल, राप्रपा नेपाल, नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिलगायतका राजावादी तथा हिन्दुवादी संघसंस्थाकाे सहभागीता रहने सहमति भएको छ ।
आन्दोलन परिचालनका लागि नेपाली कांग्रेस (वीपी) का सभापति सुशिलमान शेरचनकाे संयोजकत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन भएको नेपाली कांग्रेस (वीपी) का महामन्त्री देवेन्द्रप्रकाश पाैडेलले लुम्बिनीपाटीलाई जानकारी दिए ।
हिजो र आज बसेकाे राजावादी तथा हिन्दुराज्य पुनःस्थापना पक्षधर पार्टी तथा अभियान एवं समुहको बैठकले पूर्व निर्धारित कार्यक्रम अनुसार रै देशव्यापी आन्दोलन गर्ने,आन्दोलन संयुुक्त जनआन्दोलन समितिकाे ब्यानरमा हुने र आन्दोलन परिचालनका लागि नेपाली कांग्रेस (वीपी) का सभापति सुशिलमान शेरचनको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरिएको महामन्त्री पाैडेलले बताए ।
पूर्व घाेषित कार्यक्रम अनुसार काठमाडौंकाे माइतिघर मण्डलामा सभा गर्ने र सभा अघि काठमाडौका विभिन्न १० ठाउवाट जुलुस प्रदर्शन गर्ने सहमति समेत भएको बताइएको छ । जुलुसकाे नेतृत्वका लागि कमाण्डरहरु खटाइएको भए पनि कमान्डरहरूकाे नाम भने सार्वजनिक गरिएको छैन ।
आन्दोलन घाेषणा गरिसकेको अवस्थामा महाअभियानका संयोजक प्रसाईं बिवादास्पद अभिब्यक्ति दिएको आराेपमा पक्राउ परेपछि आन्दोलन कसरी अगाडि बढाउने भन्ने बिषयमा राजावादी तथा हिन्दुवादी पार्टी तथा अभियान र समुहहरू छलफलमा जुटेका थिए ।








