शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता

काठमाडौँ,६”मंसिर ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ लाख ३७ हजार नयाँ मतदाता थपिएका छन् ।

आगामी निर्वाचनलाई लक्ष्यित गरि सञ्चालन गरेको मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिककाक्रममा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । बायोमेट्रिक्स मार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्र मार्फत ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबारबाट सकिएको छ ।

यसअघि गत कार्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मंसिर ५ गतेसम्मका लागि समय थपेको थियो ।

निर्वाचन आयोगमा शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता भएका छन् । श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी आयोगमा दर्ता भएका हुन् ।

यस्तै अन्य २८ दल दर्ताका लागि प्रस्ताव गरी आएका र ती दल प्रक्रियामा रहेको आयोगले जनाएको छ ।