काठमाडौँ,५ मंसिर ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेटको क्षतिमा १७५ रन मात्रै बनायो ।
पोखराले लगातार दोस्रो हार व्यहोर्दा सुदूरपश्चिमले भने एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै चार अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पोखरा भने अंक तालिकाको पुछारमा झरेको छ ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाए । उनले ३२ बलमा चार चौका र चार छक्काको मद्दतले ५३ रन बनाए । त्यस्तै, जेम्स निसमले ४७ रन बनाए। उनले २५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि हरमित सिंहले दुई, स्कट कुग्लिजिन, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र नरेन साउँदले एक–एक विकट लिए । यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।








