नवलपरासी,५ मंसिर ।
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक खण्डमा पर्ने नारायणी नदीकाे पुलमा शुक्रबार र शनिबार राति ११ देखि बिहान ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

नवलपरासी र चितवन जोड्ने नारायणी नदी पुलको नवलपुर खण्डमा सडक कालोपत्रे गर्नुपर्ने भएकाले रातको समयमा यातायात संचालनमा रोक लगाइएको बुटवल-नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ ।

बुटवल-नारायणगढ सडक विस्तार आयोजनाले एक सूचना जारी गरी यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

यस अवधिमा बुटवलबाट नारायणगढतर्फ जाने साना र मिनी बस गैंडाकोटको थुँसी क्षेत्र र ठुला सवारी वेल्डियादेखि प्रगतिनरगको बीचमा रोक्ने ब्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।

नारायणगढबाट बुटवलतर्फ जाने साना सवारी रामनगर र ठुला सवारी जुगेडीदेखि दासढुंगा क्षेत्रमा रोक्नुपर्ने छ ।

अहिले दाउन्ने र बाँकी भागमा सडक विस्तारको काम भैरहेको छ ।

२०७५ चैतदेखि सुरु भएर ४४ महिनामा सम्पन्न हुनुपर्ने काम चौथो पटक म्याद थप भएर २०८३ साउन ७ गतेसम्म लम्ब्याइएको छ । समयमा नै काम नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।