बुटवल,५ मंसिर ।
लुम्बिनी विकास कोषको सदस्य सचिवमा दिपक श्रेष्ठ नियुक्त भएका छन् ।

शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कोषको सदस्य सचिवमा श्रेष्लाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

बैठकले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल-बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको मन्त्री खरेलले बताए ।

यसैगरी बैठकले मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन आदिवासी जनजाती आयोगका सदस्य रिना रानालाई स्वीकृत प्रदान गरेको छ । नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदा सम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा बढुवा र एकजना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय गर्नुका साथै बैठकले उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री खरेलले जानकारी दिए ।