बुटवल,५ मंसिर ।
पाल्पाको रानीमहल नजिकै बस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको रानीमहल अवलोकन भ्रमणमा हिँडेका विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना भएको हो । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा भ्रमणमा गएको ना ५ ख १०८९ नम्बरको बस आज बिहान करिब ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रानीमहल जाने क्रममा तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिकै बस अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) होम प्रकास चौधरीले बताए ।
दुर्घटनामा परी घाइते हुनेहरूमा दाङ राजपुर गाउँपालिका–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका–५ की १२ वर्षीय सन्ध्या भण्डारी, राजपुर गाउँपालिका–६ की १८ वर्षीय दिल कुमारी रावत छन् ।
यसैगरी राजपुर–६ की १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, राजपुर–५ की २३ वर्षीय सिर्जना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही–९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पाल्पाको तानसेन स्थित मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।








