बुटवल,४ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीको मुद्दा सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको इजलासमा परेपछि लामिछानेको पक्षका कानुनी व्यवसायीले पेस पेसी सारेका हुन् ।
लामिछाने पक्षका कानुनी व्यवसायीले पेसी सार्न निवेदन दर्ता गरेपछि सुनुवाइका लागि आज पेसी ताेकिएकाे मुद्दाकाे सुनुवाइ स्थगित गरिएको उच्च अदालत तुलसीपुर,बुटवल इजलासले जनाएको छ ।
उच्च अदालत तुलसीपुर,बुटवल इजलासका उपरजिस्टार यज्ञ मूर्ति ज्ञवालीका अनुसार गोलाप्रथाबाट इजलास तोकिएको भए पनि रवि लामिछाने पक्षका कानुन ब्यवसायीकाे निवेदनका कारण आजको सुनुवाइ स्थगित भएको हो ।
सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दामा गत हप्ता उच्च अदालत तुलसीपुर–बुटवल इजलासले मूल मिसिल झिकाउन आदेश दिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । त्यस आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्ने आदेश गरेपछि दबैको मुद्दा एकसाथ सुनुवाइ हुन थालेको हो ।








