बुटवल,४ मंसिर ।
रूपन्देहीको देवदहमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
हिजो बुधबार बेलुका बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक पाल्पाकाे बगनासकाली गाउँपालिका-९ का २२ वर्षीय सौरव विकको उपचारको क्रममा मृत्यु भएको हो ।
बुधवार साँझ दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२, ००१ ख ००४५ नं को बसले लु २९ प १५९१ नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक विक गम्भीर घाइते भएका थिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि देवदह मेडिकल कलेज लगिएको थियो । विक देवदह-७ उदयनगरस्थित आफन्तिकोमा आएको बताइएको छ ।
ठक्कर दिने बसको चालक भने अझै नियन्त्रणमा नआइसकेको खैरेनी प्रहरीले जनाएको छ ।
पछिल्लो समय देवदह क्षेत्रमा सवारी दुर्घटनाका घटना बढिरहेका छन् । खैरेनीदेखि भलुहीसम्मको मुख्य राजमार्गमै पछिल्लो दुई महिनामा चार वटा ठुला दुर्घटना भएका छन् । जसमा विक सहित तीनजनाको मृत्यु गएको छ ।








