काठमाडौँ,३ मंसिर ।
बाराकाे सिमरामा स्थिति असहज भएपछि एमाले नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फकिएका छन् । जिल्लाकाे परवानीपूरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्न जानेक्रममा बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत,भानुभक्त ढकाललगायतका नेताहरू विमानस्थलबाटै फर्किएका हुन् ।

एमाले महासचिव पाेखरेल,महेश बस्नेत लगायतका नेताहरू सिमरा आउने खबर पाएसँगै जेनजीकाे नाममा सिमरा विमानस्थल परिसरमा प्रदर्शन गरेपछि स्थिति अशान्त बनेको थियो ।

स्थितिलाई नियन्त्रणबाहिर जान नदिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेसँगै विमानस्थल पनि अस्थायीरुपमा बन्द भएको थियो । जहाज नचलेपछि आफूहरू घर फर्किएको बस्नेतले बताए ।

सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएका कारण काठमाडौ-सिमरा उडान नभएर फर्कनु परेपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै एमाले नेता बस्नेतले ५०/६० जना युवाको समुहकाे प्रदर्शनलाई नियन्त्रण गर्न नसक्ने सरकारले चुनाव गराउछु भन्नु हास्यास्पद भएको टिप्पणी गरे ।

उनलेे एमाले निकट युवा संघको मधेस प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला भाड्न जेनजीका नाममा सरकारलेनै युवाहरूलाई दुरुपयोग गरेको आराेप समेत लगाए ।