नवलपरासी,२ मंसिर ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जिल्ला समिति नवलपरासीले जिल्ला सदरमुकाम परासी सहित छ स्थानमा बिरोध प्रर्दशन सहित कोणसभा गरेको छ । मंगलवार चारवटा पालिकाको छ वटा ठाउँमा बिरोध प्रर्दशन सहित कोणसभा गरेको साे पार्टीले जनाएको छ ।
साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने नाराका साथ बर्दघाट, सुनवल र रामग्राम नगरपालिका एंव सरावल गाउँपालिकाको मुख्य बजारहरुमा पार्टीले बिरोध प्रर्दशन गरेको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिए ।
बर्दघाटको भुताहाबजारको चोक र भटौलिया बजार,सुनवलको भुमही बजार र सोमनाथ हाटबजार, जिल्ला सदरमुकाम परासीस्थित बुद्धचोक र सरावल गाउँपालिकाको केन्द्रमा पार्टीले भण्डाफोर सहित बिरोध कार्यक्रम गरेको उनको भनाई छ ।
जिल्ला सदरमु्काम परासीको बुद्धचोकमा आयोजित कोणसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जेनजीको माग भ्रष्टाचार विरुद्ध, सामाजिक सन्जाल बन्दको विपक्षमा रहेको र त्यो मागको पक्षमा आफुहरुले विगतदेखि आन्दोलन गर्दै आएको बताए । अबको राजनीतिक निकास स्वाधीन संयुक्त सरकार मात्र रहेको उनको भनाइ थियो । क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले कार्यक्रमकाे सहजिकरण गरेका थिए ।
त्यस्तै, सुनवलको सोमनाथ हाटबजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले जेनजी बिद्रोहलाई दिशाविहीन बनाएर बैदेशिक शक्तिहरुले राष्ट्रिय स्वाधीनतालाई प्रहार गरेको बताए । संसदीय ब्यवस्था मुठ्ठीभर दलालहरुको ब्यवस्था रहेको उल्लेख गर्दै उनलेे भष्ट्राचारको जननी नै संसदीय ब्यवस्था रहेको दाबी गरे । उक्त कार्यक्रम पार्टीका जिल्ला सदस्य तथा सुनवल नगर संयोजक प्रेमलाल रिमालले सहजिकरण गरेका थिए ।
यसैगरी भुताहा बजारको चोकमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले वर्तमान सत्ता र ब्यवस्था भष्ट्र दलालहरुको भएकोले यसबाट देशले निकास नपाउने उल्लेख गर्दै स्वाधीन संयुक्त सरकारको आवश्यकता रहेकोमा जोड दिए । साे कार्यक्रमको संचालन पार्टीका जिल्ला सदस्य तथा बर्दघाट नगर संयोजक ज्ञान बहादुर केसीले गरेका थिए ।
त्यस्तै भुमही बजार, सरावल र भटौलिया बजारमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा, जिल्ला सेक्रेटरी रवि पाण्डेय,क्रान्तिकारी संयुक्त मोर्चा नेपालका संयोजक चुडामणी भण्डारी,जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी,चुडामणी भण्डारीलगायतका नेताहरूले सम्बाेधन गरेका थिए ।
भ्रष्टाचार विरुद्धको अभियान संचालन गरिरहेको उक्त पार्टीका नेता कार्यकर्ताले कालो ब्यानर प्रर्दशन सहित नाराबाजी र हात हातमा प्ले कार्ड र झण्डा बाेकेका थिए । कार्यक्रमलाई मध्येनजर गरी वरपर ठुलो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो । उनीहरुले दलालहरु होसियार, भष्ट्रचारी मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, कठपुतली सरकार खारेज गर, स्वाधीन संयुक्त सरकार गठन गर जस्ता चर्का नाराबाजी समेत गरेको सुनवलको प्रत्यक्षदर्शी माया थापाले बताइन् । कार्यक्रममा स्वाधीन संयुक्त सरकारको लागि देशभक्त, जनवादी ,क्रान्तिकारी र वामपंथीहरु एकजुट होऔं भन्ने अपिल वितरण गरिएको थियो ।
कार्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म भण्डाफोरका कार्यक्रम र मंसिर ७ गते बुटवलमा आयोजित जनसभालाई बृहत बनाउने योजना सहित कार्यक्रमकाे तयारी गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले जनाएको छ । अब जिल्लाकाे सुस्ता, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा पनि भण्डाफोर सहितको कार्यक्रम हुने जनाइएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत) को एक हिस्सा र नेकपा (मशाल) बीच एकता महाधिबेशन पश्चात् क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पार्टी बनेको हो ।








