बुटवल,२ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टीकाे संगठन सशक्तिकरण अभियान सुरु भएको छ ।

मंसिर महिनाभर पहिलो चरणकाे पार्टी शसक्तिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेकोे राष्ट्रिय जनमुक्ति पार्टीले हिजो मंसिर १ गतेदेखि साे अभियान सुरु गरेको हो ।

साेमबार पार्टीको केन्द्रीय सम्पर्क कार्यालय, बुटवलमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष केशव सूर्यवंशीले आफ्नो सदस्यता नवीकरण गरेर अभियानको उदघाटन गरेका हुन् ।

अभियान अन्तरगत मुख्य रुपमा पार्टी सदस्यता नवीकरण, घर फर्क, पार्टी प्रवेश तथा समायोजन र प्रशिक्षण/भेला/अन्तरकृया लगायतका कार्यक्रमहरु सञ्चालन गरिने पार्टीका महासचिव टाेप अस्लामीले लुम्बिनीपाटीलाई जानकारी दिए ।

यसअघि कार्तिक २६ र २७ गते रूपन्देहीको मंगलापुरमा बसेकाे पार्टीको केन्द्रीय समिति र त्यसपछि बसेकाे कार्यसम्पादन समितिकाे बैठकले “आन्तरिक मजबुती र संगठन सुदृढीकरण” गर्ने “संकल्प” गर्दै मंसिर महिनाभर नेता कार्यकर्ताहरुको सदस्यता नवीकरण” गर्ने गरी “पार्टी सशक्तीकरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको थियो ।

आगामी २०८३ फागुनभित्र पार्टीको सातौं राष्ट्रिय महाधिवेशन र “दोश्रो अन्तर्राष्ट्रिय जनमुक्ति सम्मेलन” सम्पन्न गर्ने निर्णय गरेको पार्टीले “भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२५” को सन्दर्भमा आगामी मंसिर २३ गते (डिसेम्बर ९) का दिन देशव्यापी रुपमा “भ्रष्टाचार विरुद्ध हस्ताक्षर सहितको विशेष अभियान” सञ्चालन गर्ने निर्णय समेत गरेको महासचिव अस्लामीले बताए ।