बुटवल,१ मंसिर ।
श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको बुटवलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको निसीखोला गाउँपालिका–६ बस्ने ३२ वर्षिय बिजय भन्ने बिर बहादुर कुँवर रहेका छन् ।
गत कार्तिक २७ गते सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेटस्थित होटल लुम्बिनी गेटमा काम गर्दै आएकी बाग्लुङको निसीखोला गाउँपालिका–६ रास्कोट बस्ने अन्दाजी २० वर्षिय मेलिना परियार सोही होटलको कम्पाउण्डभित्र रहेको स्टाफ कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
मृतकका श्रीमान बिर बहादुरले सामाजिक सञ्जाल प्रयोगको विषयमा अर्कै परस्त्रीसँग बोल्ने गरेको भन्ने विषयमा झै–झगडा तथा वादविवाद हुँदा श्रीमतीलाई प्रतिवादी (बिर बहादुर) ले कर्तव्य गरी मारेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार घटनापछि तत्काल उक्त स्थानमा प्रहरी टोली खटिई फरार रहेका बिर बहादुरलाई बुटवल उपमहानगरपालिका–९ स्थित बसपार्कमा लुकीछिपी बसेकाे अवस्थामा कार्तिक २८ गते फेला पारी पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








