बुटवल,१ मंसिर ।
बैंक तथा वित्तिय संस्था पीडितहरुले एनआईसी एशीया बैंकले आफ्नो नाममा बनाएर तालाबन्दी गरेको घर तथा पसलको ताला फोरेर ऋणीलाई घरभित्र प्रवेश गराएका छन् ।

बुटवल ११ कालिकानगर मुख्य सडकसंग जोडिएको बसन्त बस्यालको बस्याल हार्डवयर सहितको घर जग्गामा एनआईसी एशीया बैंकले आफ्नो नाममा पास गरेको थियो ।
बसन्त बस्यालको नाममा रहेको ३ कठ ३ धुर जग्गामा बनेका २ वटा पक्की घर, २ वटा गोदाम सहितको संरचनामा सञ्चालित बस्याल हार्डवयर बैंकले लिलाम गरेर २०७७ साल मंसिर २५ गते आफ्नो नाममा गराएको थियो । घर जग्गा बसन्त बस्यालको नाममा भएपनि बस्याल हार्डवयर भिमलाल बस्यालको नाममा सञ्चालन थियो । बसन्त बस्यालको नामको घर जग्गा र भिमलाल बस्यालको नाममा रहेको बस्याल हार्डवयेरको आम्दानी देखेर बैंकले ऋण लगानी गरेको थियो । भिमप्रसाद बस्याल र बसन्त बस्याल सहोदर बाउछोरा हुन् । भिमप्रसाद बाउ हुन भने बसन्त बस्याल छोरा हुन् ।
बैंक तथा वित्तिय समन्वय समिति रुपन्देही र नागरिक बचाउ अभियान रुपन्देहीमा आवद्द रहेका अभियान्ताहरुले आइतबार बैंकले लगाएको ताला फाेरेर ऋणीलाई घर प्रवेश गराएका हुन् । उनिहरूले बैंकले गल्ती स्वीकार गरेर घर जग्गा फिर्ता नगरे बैंकमा तालाबन्दी गरेर बन्द गराईदिने चेतावनी दिंदै नारावाजी गरेका थिए ।
एनआईसी एशीया बैंकले देशभर नै ज्याजदी गरेको बैंक तथा वित्तिय समन्वय समिति रुपन्देहीका महेन्द्र शाहीकाे दाबी छ ।
सानादेखि ठूला व्यवसायी र निम्न तहका नागरिकका घरजग्गा लिालम गर्ने कुनै पनि बैंकलाई अब नेपालमा चल्न नदिने उनिहरूकाे चेतावनी छ ।
बैंक तथा वित्तिय संस्थाहरुबाट ठगिएका पीडितहरुका जायज मागहरुप्रति यसअघिका सरकार र यो सरकारले पनि नसुनेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको राष्ट्र राष्ट्रियता धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका अभियान्ताहरूले बताएका छन् ।
आफुले लिएको ऋण तिर्न तयार छौ भन्दा भन्दैपनि बैंक तथा वित्तिय संस्थाहरुले २, ४ लाख ऋणको व्याज र हर्जना जाडेर मनोमानी ढंगले नागरिकका करोड पर्ने घर जग्गाहरु लिलाम गरेकाेले त्यसको बिरोधमा आन्दोलनमा उत्रिएको अभियानकी नेतृ कमला चन ठकुरीले बताइन् ।
बैंक तथा वित्तिय समन्वय समिति रुपन्देही र दुर्गा प्रसाई निकट नागरिक बचाउ अभियानले बैंक तथा वित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै देशभर अभियान चलाएका छन् । नागरिकका घर जग्गा लिलाम गर्न नपाइने, मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने, २० लाखसम्मको ऋण मिनहा गर्नुपर्ने, कोरानाकालको सबै प्रकारका ऋणको व्याज मिनहा गर्नुपर्ने, ऋण तिर्नका लागि भाका किस्ताको समय दिनुपर्ने र सुकुम्वासी समस्या समाधान गर्नुपर्ने माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
एनआईसी एशीया बैंक केन्द्रिय कार्यालयका सूचना अधिकारी अर्जुन खनियाले लामो समयदेखिका बैंकको लोन सल्टाउन लिलाम प्रक्रिया अगाडि बढाएको र लिलाममा बिक्री नभएपछि बैंकले आफ्नो नाममा गराएको स्वीकार गरे ।
बसन्त बस्यालको नाममा रहेको उक्त घर जग्गा बैंकले आफ्नो नाममा गराईसकेको र अहिले बिक्रीका लागि लिलामको अवस्थामा रहेको सूचना अधिकारी खनियाकाे भनाइ छ ।
२०७३ सालमा ७ प्रतिशत व्याजका दरले १६ करोड ऋण लिएको र १८ प्रतिशतसम्म व्याज तिरेर पनि ९ करोड बनाएको अवस्थामा आफुलाई जानकारी नगराइकन बैंकले लिलाम गरी आफ्नो नाममा गराएको भिमप्रसाद बस्यालकाे गुनासो छ ।
करिब ९ करोडको २२ प्रतिशतसम्म व्याज र हर्जना जोडेर पनि ऋण तिर्छु भन्दा भन्दै बैंकले आफुलाई सडकमा पुराएको बसन्त बस्यालले दुखेसो पोखे । घर जग्गा बेचेर ऋण तिर्छौ भन्दा पनि बैंकले जानकारी नगराई आफ्नो नाममा गराएर अन्याय गरेको बसन्त बस्यालले गुनासो गरे । भिमप्रसाद बस्यालका अनुसार २०७७ साल मंसिर २५ गते कसैलाई जानकारी नगराई एनआईसी एशीया बैंकले आफ्नो नाममा गराएको र गत भदौ १ गते घर र पसलमा तालाबन्दी गरिदिएकाे हो ।
ऋण तिर्नका लागि घर जग्गा किन्ने ग्राहक खोजेर बेच्न ठिक्क पारेको अवस्थामा बैंकका कर्मचारीले बिगारिदिएकाे पीडित बस्याल परिवारले गुनासो छ । बैंकले घर र पसलमा चापी लगाएपछि चल्दै आएको व्यवसाय लामो समयदेखि ठप्प रहेको थियो । आइतबार बैंक तथा वित्तिय समन्वय समिति रुपन्देही र नागरिक बचाउ अभियान रुपन्देहीको अगुवाईमा बैंकले लगाएको चापी तोडेर बस्याल परिवारलाई चापी बुझाएका छन् । लामो समयदेखि बन्द रहेको बस्याल हार्डवयर आइतबारदेखि खोलिएको छ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानले यही मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन घाेषणा गरेको छ ।








