मंसिर महिनाभर संगठन सशक्तीकरण अभियान र भ्रष्टाचार विरुद्ध देशब्यापी हस्ताक्षर सहितको विशेष अभियान सञ्चालन गर्ने निर्णय
बुटवल,१ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो “आन्तरिक मजबुती र सुदृढीकरण”लाई पूर्ण रुपमा व्यवस्थित गर्ने “संकल्प” गरेको छ
। कार्तिक २६ गतेदेखि रूपन्देहीको मंगलापुरमा बसेको पार्टीको केन्द्रीय समिति र कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि हिजो कार्तिक ३० गते पार्टी अध्यक्ष केशव सूर्यवंशीले एक प्रेस विज्ञप्ति जारी गरी बैठकका मुख्य मुख्य निर्णय सार्वजनिक गरेका हुन् । यसका लागि पार्टीले यही मंसिर महिना भरी सम्पूर्ण “नेता कार्यकर्ताहरुको सदस्यता नवीकरण” गर्ने गरी “पार्टी सशक्तीकरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ ।

२०८१ बैशाख २९-३० मा चितवनमा सम्पन्न “विधान सम्मेलन” को निर्णयको हवाला‌ दिंदै “किर्ते हस्ताक्षर सहितको निर्णय” गुपचुप रुपमा निर्वाचन आयोगमा पेश गरी तत्कालिन अध्यक्ष खड्गप्रसाद (केपी) पालुङवाले केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको नाम अर्थहिन र बेईमानी पूर्वक हटाई बदमासी गरेको भएता पनि उनिहरुलाई यो बैठकबाट मनोनयन गरी विभिन्न जिम्मेवारी पनि तोकिएको छ ।

यसअघि पार्टी स्थापना वर्ष २०४८ माघ ६ गतेलाई मानी स्थापना दिवस मनाउदै आएकोमा त्यसलाई पूर्ण रूपमा सच्चाई अब पार्टीको “स्थापना वर्ष” २०४७ बैशाख २३ गतेलाई मान्ने र आगामी २०८३ बैशाख २३ गते पार्टीको अभूतपूर्व, भव्य, रचनात्मक र उत्साहपूर्ण रुपमा “३६ औं स्थापना दिवस” मनाउने निर्णय भएको अध्यक्ष सूर्यवंशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।‌

जेन जी (जेन जेड) आन्दोलनपछिको अवस्थालाई गम्भीर समिक्षा गर्दै बैठकले प्रतिनिधि सभाको निर्वाचनमा सकृय सहभागी हुने निर्णय गरेको छ ।

“भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२५” को सन्दर्भमा आगामी मंसिर २३ गते (डिसेम्बर ९) का दिन देशव्यापी रुपमा “भ्रष्टाचार विरुद्ध हस्ताक्षर सहितको विशेष अभियान” सञ्चालन गर्नुका साथै पार्टीद्वारा विगतमा सञ्चालित “भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान” लाई सोही दिनदेखि विधिवत रुपमा अझ प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय गरिएको पार्टीका महासचिव टाेप अस्लामीले जानकारी दिए ।

राष्ट्रिय जनमुक्ति पार्टीको बैठक रूपन्देही (कविराज स्मृति भवन, मंगलापुर र बुटवल) ले गरेको मुख्य निर्णयहरु

प्रेष विज्ञप्ति ।
राष्ट्रिय जनमुक्ति पार्टीको संघीय परिषद (केन्द्रीय समिति) को बैठक कात्तिक २६ गते र कार्य सम्पादन समितिको बैठक (कात्तिक २८ गते) रुपन्देही (कविराज भवन, मंगलापुर र बुटवल) मा सम्पन्न भएको छ । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु यसै विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

१) जेन जी (जेन जेड) आन्दोलन पछिको अवस्थालाई गम्भीर समिक्षा गरिएको छ । प्रतिनिधि सभाको निर्वाचनमा सकृय सहभागी हुने निर्णय गरिएको छ ।

२) “भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२५” को सन्दर्भमा आगामी मंसिर २३ गते (डिसेम्बर ९) का दिन देशव्यापी रुपमा “भ्रष्टाचार विरुद्ध हस्ताक्षर सहितको विशेष अभियान” सञ्चालन गरिनेछ । साथै पार्टीद्वारा विगतमा सञ्चालित “भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान” लाई सोही दिनदेखि विधिवत रुपमा अझ प्रभावकारी ढङ्गले अघि बढाईनेछ ।

३) आगामी २०८३ फागुनभित्र पार्टीको सातौं राष्ट्रिय महाधिवेशन र “दोश्रो अन्तर्राष्ट्रिय जनमुक्ति सम्मेलन” सम्पन्न गरिनेछ ।

४) २०८२ मंसिर महिना भरी “पार्टी शसक्तीकरण अभियान–२०८२” पहिलो चरण सञ्चालन गरिनेछ ।

यस अभियान अन्तरगत मुख्य रुपमा पार्टी सदस्यता नवीकरण, घर फर्क, पार्टी प्रवेश तथा समायोजन र प्रशिक्षण/भेला/अन्तरकृया लगायतका कार्यक्रमहरु सम्पन्न गरिनेछ । यस अभियानमा पूर्ण उत्साहका साथ सहभागी हुन तथा सकृयता साथ सहयोगका लागि समेत पार्टीका सबै तहका नेता कार्यकर्ता एवं सदस्यहरुलाई आव्हान गरिएको छ ।

५) पूर्व उपाध्यक्ष डा.विधु प्रकाश कायस्थलाई पार्टी उपाध्यक्ष एवं परराष्ट्र र प्रशिक्षण विभाग प्रमुख, पूर्व उपमहासचिव चेत बहादुर आलेलाई उपमहासचिव, केन्द्रीय सचिवालय प्रमुख एवं पार्टी प्रवक्ता, पूर्व सहकोषाध्यक्ष धनकेशर सूर्यवंशी (डिके) लाई कोषाध्यक्ष एवं अर्थ विभाग प्रमुख, पूर्व केन्द्रीय व्यवस्थापक डब बहादुर गर्बुजा पुनलाई संघीय परिषद सदस्य एवं संगठन विभाग प्रमुख, संघीय परिषद सदस्य अधिवक्ता बालकिशोर रानालाई कानून तथा मानव अधिकार विभाग प्रमुख, पूर्व संघीय परिषद सदस्य गोविन्द पुनलाई संघीय परिषद सदस्य एवं परराष्ट्र विभाग उपप्रमुख, पूर्व केन्द्रीय सदस्यहरु हरिदेव थापा (स्याङ्जा), अशोक पुन (रुपन्देही) का साथै राष्ट्रिय महिला मोर्चाका केन्द्रीय उपाध्यक्ष उर्मिला नेपाली (दाङ्ग) लाई संघीय परिषद सदस्य (केन्द्रीय सदस्य) मा मनोनयन गरिएको छ ।

६) राष्ट्रिय महत्वको विषय, एजेण्डा र परियोजनाहरुमा प्रत्येक्ष सरोकारका लागि पार्टी अध्यक्षको नेतृत्व रहने गरी “राष्ट्रिय सरोकार विशेष अभियान” सञ्चालन गरिनेछ ।

७) राष्ट्रिय जनमुक्ति पार्टीको विरासतको स्वामित्व लिंदै पार्टी घोषणाको ऐतिहासिक मिति २०४७ बैशाख २३ गतेलाई “स्थापना वर्ष” मान्ने तथा आगामी “२०८३ बैशाख २३ गते” का दिन पार्टीको “३६औं स्थापना दिवस” अभूतपूर्व, भव्य, रचनात्मक र उत्सासपूर्वक मनाईनेछ ।

८) मिति २०८१ बैशाख २९ र ३० गते चितवन (भरतपुर) मा सम्पन्न विधान सभापछि पार्टीमा सृजित नयाँ संशोधित विधान तथा कार्य समितिको नामावली हेरफेर सम्बन्धी वैधानिकताको मुद्दाले पार्टीमा उत्पन्न भएको गम्भीर विवाद तथा अन्तरविरोधकै प्रतिफल अन्ततः राष्ट्रिय जनमुक्ति पार्टी नयाँ ढङ्गले अगाडि बढ्ने परिस्थिति विकसित भएको हो । यस विषयमा राष्ट्रिय जनमुक्ति पार्टीका सबै सदस्यहरु, सहयोगी तथा शुभेच्छुकहरुलाई प्रष्ट पार्नका लागि सबै तहका नेताहरुले आ–आफ्नो तहमा भूमिका निर्वाह गर्ने व्यवस्था गरिएको छ ।

९) पार्टीका निवर्तमान उपाध्यक्ष मनीराम चौलागाईलाई पार्टीको प्रवासी संगठन जनमुक्ति मञ्चको “भारत संयोजक” को जिम्मेवारी प्रदान गरिएको छ ।

केशव सूर्यवंशी
अध्यक्ष