नवलपरासी, २९ कार्तिक ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले वडा समिति गठन गरेको छ । शनिबार बर्दघाट–०४ दिब्यनगरमा भएको भेलाले लालु गिरीको संयोजकत्वमा सात सदस्यीय ४ नम्बर वडा सङ्गठन समिति चयन गरेको छ ।
समितिको सदस्यमा सुजन रोकाहा, लक्ष्मी ढकाल, कमला थापा, देवकला भण्डारीलगायत छन् । उक्त भेलाबाट वडामा तत्काल ५ वटा सेल समिति गठन पुनर्गठन गर्ने र पार्टीका योजनामा सक्रिय रुपले लाग्ने निर्णय भएको वडा संयोजक लालु गिरी जानकारी दिए ।
भेलाले २२ वटै टोलहरुमा ईकाई (सेल) समिति विस्तार र क्रान्तिकारी संयुक्त मोर्चा नेपालको सदस्यता विस्तारको कामलाई समेत ब्यवस्थित गर्ने तयारी भएको गिरीको भनाइ छ ।
कार्यक्रममा पार्टीका युवा नेता समेत रहेका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले वर्तमान दलाल ब्यवस्थाको बिकल्पमा नयाँ जनवादको खुडकिलो पार गरेर बैज्ञानिक समाजवादमा देशलाई पु¥याउनु क्रान्तिकारीहरुको दायित्व रहेको बताए ।
उनले संसदवादीहरुको एकताले देशलाई निकास दिन नसक्ने भन्दै पार्टीले क्रान्तिकारी धुब्रीकरणको पहल लिईरहेको जानकारी गराए ।
कार्यक्रममा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणि भण्डारीले सबै उत्पीडित जाति एवं वर्गको मुक्ति गर्ने पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी मात्र रहेको दावी गरे ।
साे कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकाल,क्रान्तिकारी युवा संघ नेपालका जिल्ला संयोजक राम प्रसाद अर्गेजा, संघका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेलगायतको आतिथ्यता थियो ।








