बुटवल,२९ कार्तिक ।
रुपन्देही व्यापार संघको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले मुलुकको समग्र विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए । उनले मुलुकमा दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

राजनीतिक अस्थिरताका कारण मुलुककमा जति हुनुपर्ने हो त्यति विकास निर्माण हुन नसकेको भन्दै उनले राजनीतिक अस्थिरताले देशलाई झन् समस्यामा पार्ने खतरा बढेको बताए । पछिल्लो समय पुराना राजनीतिक दल र नेताले देशमा केही गरेनन् भन्ने भास्य सिर्जना भएको भन्दै उनलेे जरुरी छ रहेको उनकाे भनाइ थियो।

गएको चैत १५ गते मुलुकलाई ध्वस्त पार्ने षड्यन्त्र पुरा हुन नसकेपछि पुनः भदौ २३ र २४ गते देशभर तोडफोड र आगजनी गरी विध्वंश मच्याइएको उनको भनाई थियो । ‘जेनजी आन्दोलनका नाममा अपराधिक मानसिकताका केहि व्यक्तीले बिभिन्न व्यक्ती र सार्वजनिक सम्पत्तीमा ठूलो क्षति पुर्‍याए ।’, गिरीले भने, उद्योगी व्यवसायीहरु उठ्नै नसक्ने गरी समस्यामा छन्, यो घटनाले फेरी देशलाई ५० वर्ष पछाडि धकेलेको छ ।’ मुलुकको समृद्धि र विकासका लागि कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने बताए । नेता गिरीले व्यवसायीक हकहितका लागि आएको संघको नयाँ नेतृत्वलाई सधै कटिवद्ध भएर काम गर्न सुझाव दिए ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले हरेक हिसाबले केन्द्र भागमा रहेको बुटवललाई आर्थिक तथा साँस्कृतिक केन्द्रका रुपमा विकास गर्न सबैको चासो बढ्नुपर्ने बताए । ‘व्यवसायीक उन्नती बिना हाम्रो भविश्य सुनिश्चीत छैन, बुटवलमा वृहत कर्पोरेट हाउस जरुरी छ । यसका लागि यहाँका सम्पूर्ण संघसंस्थाहरु एकजुट हुनुपर्छ ।’ उनले भने ।

पछिल्ला घटनाक्रमले उद्योगी व्यवसायीमा छाएको निराशालाई चिरेर अघि बढ्नुको विकल्प नभएको नेता श्रेष्ठले बताए । पुराना राजनीतिक दल र नेताहरुले समय अनुसार आफुलाई परिवर्तन गर्न जरुरी रहेको उनको भनाई थियो । सिमा सुरक्षा चुनौति बढिरहेको भन्दै उनले खुला सिमानाका कारण हुने अबैध चोरी पैठारीलाई पूर्ण रुपमा बन्देज गर्न सकेमात्र यहाँका उद्योगी व्यवसायीहरुलाई राहत मिल्ने बताए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उज्यालो बुटवल अभियानलाई सार्थक बनाउन हाइमास्ट लाईट जडानलाई प्राथमिकतामा राखेको बताए । राजनीतिक दल र नेताहरु सच्चिनुपर्ने समय आएकोमा जोड दिदै उनले बुटवललाई सफासुग्घर, हरियाली र बस्नयोग्य बनाउन सबैले सहकार्य गर्न जरुरी रहेको बताए ।

नगर उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउँदै व्यवसायिक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता गरिन् । उनले बुटवल उपमहानगरपालिका र व्यापार संघ व्यवसायिक हितका लागि एक भएर अगाडि बढ्ने पनि बताइन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सुमानाकाबाट अबैध रुपमा कर छलिका सामान भित्रीदा यहाँका उद्योगी व्यवसायी वषौँदेखि समस्यामा रहेको गुनासो गरे । साथै उनले अबैध चोरी पैठारी नियन्त्रण र भन्सारमा थप कडाइ गर्न आबश्यक देखिएको बताए ।

यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जेनजी आन्दोलनमा भन्सार कार्यालयको भवनमा ठूलो क्षति पुगेपछि अस्थायी संरचनाबाट भएपनि नियमित सेवा प्रदान गर्दै आएको बताए । खुला सिमाबाट हुने तस्करी रोक्न शसस्त्र प्रहरीसँगको सहकार्यमा संयुक्त गस्ती भइरहेको सिमा क्षेत्रमा नयाँ गोदाम दर्ता रोकीएको उनले बताए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघ स्थापनाको अबस्थालाई स्मरण गर्दै उनले संघको हित विपरित कुनै गतिविधि हुन नदिन सबै लाग्नु पर्ने धारणा राखे । उनले संघलाई यहाँसम्म ल्याइपुर्याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिवद्ध रहने पनि बताए ।

सोही अबसरमा संघका कर्मचारी तथा बिभिन्न संघसंस्था र व्यक्तीहरुलाई सम्मान समेत गरीएको थियो । कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागत तथा महासचिव फर्सुराम पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वक्ताहरूले राजनीतिक स्थिरता, उद्योग–व्यवसायको सुरक्षित वातावरण, अवैध तस्करी रोकथाम र बुटवललाई आर्थिक–सांस्कृतिक केन्द्रका रूपमा विकसित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । जेनजी आन्दोलनका कारण उद्योग–व्यवसायमा परेको नोक्सानीबारे पनि चिन्ता व्यक्त गर्दै उत्पादन, बजार विस्तार र व्यवसायिक हकहितका मुद्दामा ध्यान दिन नयाँ आउने नेतृत्वलाई सुझाव दिएका थिए ।