बुटवल,२८ कार्तिक ।
बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाहबारेको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार बुटवलको नयाँगाउँमा सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिकाकाे आयोजना र बुद्व सामुदायिक टेलिभिजन बुटवलको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले केही युवाहरूले रातिको समयमा चर्को आवाजमा माेटरसाईकल कुदाउदा निदाउन नपाएकोदेखि सडकबत्तिकाे महशुलकाे भार उपभोक्तालाई पारेको गुनासोसम्म गरेका थिए ।

सडकमा परेका खाल्डाखुल्डी नपुर्दा दुर्घटनाको जाेखिम रहेको गुनासो गर्दै सेवाग्राहीहरूले समयमै खाल्डाखुल्डी पुर्नुपर्ने,बजारका मुख्य मुख्य चाेक र सुरक्षा चुनाैती देखिएका ठाउँमा हाइमास्ड लाइट र सिसिटिभि क्यामेरा जडान गर्नुपर्ने तथा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नपाउने ब्यवस्था कडाइका साथ लागू गर्नुपर्नेमा समेत जाेड दिएका थिए ।

कार्यक्रममा सेवाग्राहीहरूले उठाएका जिज्ञासा मेटाउने क्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सिमित स्रोत साधनका बाबजुद आफुहरू नगरवासीलाई अधिकतम सेवा सुविधा प्रदान गर्न लागिपरेकाे बताउँदै जनस्तरबाट आएका गुनासा र सुझावलाई मार्गदर्शककाे रूपमा लिएर अगाडि बढ्ने बताए ।

भाैतिक पुर्वाधारसँगै मानवीय संसाधनकाे क्षेत्रमा बुटवललाई देशकै नमुना शहर बनाउने आफुहरूकाे योजना रहेको बताउदै नगर प्रमुख पाण्डेयले त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गरे ।
बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले एक दुई जना जनप्रतिनिधिको पहलले मात्रै बुटवलको मुहार फेर्न सम्भव नहुने भन्दै विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जाेड दिइन् ।

यसअघि कार्यक्रमकाे सहजकर्ता बुद्व सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बुटवल उपमहानगरपालिका तथा मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाह बारेको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बुटवल उपमहानगरपालिकाले हिजो बिहीबार आर्थिक बर्ष २०८१/०८२ काे सामाजिक परीक्षण सम्बन्धि प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको थियो ।

साे अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले अबको बाँकी कार्यकाल अझै उत्कृष्ट बनाउन लागिपर्ने भन्दै शिक्षा,स्वास्थ्यका साथै उज्यालो,हरियाली,सफा सुग्घर र सुरक्षीत बुटवलकाे अवधारणालाई साकार पार्न सबै जनप्रतिनिधि,कर्मचारी तथा आम बुटवलवासी एकजुट हुनुपर्नेमा जाेड दिएका थिए ।