बुटवल,२८ कार्तिक ।
लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन मंसिर ८ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेश मन्त्रिपरिषदकाे सिफारिसका आधारमा लुम्बिनीका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरले आगामी मंसिर ८ गते दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन आह्वान गरेका हुन् ।
कार्तिक २४ गते बसेकाे प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ८ गते सोमबार दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमबार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुनेगरी प्रदेश प्रमुख घर्तीले हिउँदे अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुव कुवँरले जानकारी दिए ।
हिउँदे अधिवेशनमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । ती दुबै विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भइसकेका छन् ।
त्यस्तै दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी रहेको जनाइएको छ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदनमाथि पनि हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सभाको बर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।








