बुटवल,२७ कार्तिक ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा थप मिसिल झिकाउने आदेश भएको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाण भन्दै मिसिल झिकाउन आदेश दिएको हो ।

साे मुद्दामा उच्च अदालत तुलसीपुर,बुटवल इजलासले कार्तिक २० गते पनि सुरु मिसिल मगाउने आदेश दिएको थियो । अहिले फेरि थप प्रमाणका लागि भन्दै अन्य मिसिल झिकाउन आदेश दिएको हो ।

त्यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।

यसअघि लामिछानेले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले २६ साउनमा उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै जना थुनामा रहेका छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै छन् ।