काठमाडौँ,२५ कार्तिक ।
बिवादास्पद तथा भड्काउँ अभिब्यक्ति दिएको अभियाेगमा पक्राउ परेका अभियान्ता डा.निकोलस भुसाल ( कमल भुसाल ) धरौटीमा रिहा भएका छन् । उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो ।

भुसाललाई कार्तिक १८ गते गोर्खाको सरस्वती आश्रमबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो । गत कार्तित १३ गते संवाद डवलीको कार्यक्रममा भुसालले प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएकाे आराेप छ ।

सोही कारण पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताविपरित भएको भन्दै भुसालले रिहाइको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

निजको साथबाट कुनै विस्फोटक पदार्थ वा हातहतियार आदि बरामद भएको वा निज कुनै कसुर गरिरहेको अवस्थामा पक्राउ परेको नदेखिएको अदालतले भनेको थियो । भुसालको बयान समेत भइसकेको स्थितिमा थुनामै राखी अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको थियो ।

धरौटी बुझाएपछि भुसाललाई परिवारको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।