काठमाडौ,२४ कार्तिक ।
विवादास्पद र भड्काउ अभिव्यक्ति दिएको अभियाेगमा पक्राउ परेका डा. निकोलस भूसाललाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

भूसालकाे बन्दी प्रत्यक्षीकरणको रिटमाथि साेमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उनलाई छाड्न अस्वीकार गरेको हो ।

उनकाे पक्राउलाई गैरकानुनी भन्न मिल्ने अवस्था नदेखिएको इजलासकाे व्याख्या छ ।

इजलासले निकोलसले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट समेत खारेज भएको छ ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा भुसाललाई गत १९ कार्तिकमा पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

भुसालले कार्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

साेही अभिब्यक्तिलाई लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको थियो ।

हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भूसालले बिवादास्पद अभिव्यक्ति दिएका थिए ।

भूसालले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई ‘हत्यारा’को संज्ञा दिएका थिए ।