काठमाडौँ,२२ कार्तिक ।
हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले भारतमाथि ९२ रनको फराकिलो अन्तरले जित हात पारेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाई १३७ रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि रासिद खानले विस्फोटक प्रदर्शन गर्दै १७ बलमा ५५ रन बनाए । उनले ४ चौका र ६ छक्का प्रहार गरे । त्यसैगरी सन्दीप जोराइले १२ बलमा ४७ रन बनाए भने लोकेश बमले ७ बलमा ३१ रन जोडे ।

१३८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारत मात्र ३ ओभरमै ४५ रनमा समेटियो । नेपालको बलिङमा पनि रासिद खान नै चम्किए । उनले ३ विकेट लिए ।

याे जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । नेपाली टोलीको आक्रामक प्रदर्शनले खेलप्रेमीहरूमा उत्साह थपिएको छ ।