काठमाडौ,२१ कार्तिक ।
जेनजी आन्दोलनका क्रममा विध्वंसात्मक गतिविधिमा संलग्न भएको आराेपमा अहिलेसम्म ३८० जना पक्राउ परेका छन् । पक्राउ परेका अधिकांशविरूद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी,प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले घटनामा संलग्न रहेको अभियाेगमा हालसम्म ३८० जना पक्राउ परेको जानकारी दिए ।
उक्त घटनामा १५१ वटा मुद्दा दर्ता गरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसरी पक्राउ पर्नेको संख्या सबैभन्दा धेरै काठमाडौंकाे रहेको छ ।
डिआइजी काफ्लेका अनुसार काठमाडौंमा मात्रै ७७ वटा मुद्दा दर्ता र १७७ जना व्यक्ति पक्राउ परेका छन् ।
त्यस्तै ललितपुरमा १३ वटा मुद्दा दर्ता हुँदा २६ जना पक्राउ परेका छन् ।
भक्तपुरमा ६ वटा मुद्दा दर्ता भई २३ जना पक्राउ परेका छन् ।
यसरी उपत्यकामा ९६ वटा मुद्दा दर्ता भई २२६ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका कतिपय व्यक्तिहरू पुर्पक्षका लागि थुनामा र कतिपय धरौटीमा समेत छुटिसकेका छन् ।
धेरैजसो व्यक्तिहरूमाथि आपराधिक उपद्रव कसुरमा मुद्दा चलेका छन् ।
कर्तव्य ज्यान, चोरी, हातहतियार खरखजाना लगायतका मुद्दा दर्ता भएका छन् ।
भदौ २३ गते गोली लागेर नयाँबानेश्वरमै १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित थुप्रै सरकारी संस्था, व्यावसायिक भवन र प्रहरी कार्यालयहरू तोडफोड र आगजनी गरेका थिए ।
केही प्रमुख राजनीतिक नेताहरूका निजी घरदेखि पार्टी कार्यालय, भाटभटेनी सुपरस्टोर, हिल्टन होटल, हायात होटल लगायतमा पनि लुटपाट, तोडफोड र आगजनी गरिएको थियो । तीन जना प्रहरीको हत्यासमेत भएको थियो ।
प्रहरीले सिसिटिभी फुटेज र भिडिओका आधारमा यी सबै घटना संलग्नहरूलाई पक्राउ गर्दै छानबिन अघि बढाएको हो ।
प्रहरीको हत्या आरोपमा १२ जना पक्राउ
भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका दुई जना र प्रहरी प्रभाग कोटेश्वरमा रहेका एक जना गरी तीन जना प्रहरीको हत्या भएको थियो ।
महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या आरोपमा अहिलेसम्म १२ जना पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।
परिसरका अनुसार महाराजगन्जका असई मिलन रायको हत्या आरोपमा काभ्रेका युवराज क्यापछाकी र ‘सोनाम’ भनिने बुद्धिलाल तामाङलाई सुरूमा पक्राउ गरिएको थियो । त्यसपछि महाराजगन्जकै जवान उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परे । कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्यामा संलग्न भएको आरोपमा अनुपम भण्डारीलाई पक्राउ गरियो ।
त्यसपछि तिहारको बीचमा प्रहरीले थप पाँच जनालाई पक्राउ गर्यो । गोरखाका २१ वर्षीय सोमबहादुर गुरूङ, तनहुँका २१ वर्षीय राजीव गुरूङ, तनहुँकै २१ वर्षीय युनिक श्रेष्ठ तथा सर्लाहीका १७ र रामेछापका १६ वर्षीय किशोर पक्राउ परेका हुन् । उनीहरू सबैलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
सोमबार मात्रै प्रहरी वृत्त महाराजगन्जले थप दुई जनालाई पक्राउ गरेको छ। सिन्धुली गोलञ्जोरका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाका २७ वर्षीय सौरभ तामाङ पक्राउ परेका हुन् । सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई सुकेधाराबाट पक्राउ गरिएको हो । यी दुई जनाले महाराजगन्जका प्रहरी जवान उत्तम थापामाथि कुटपिट गर्नुका साथै प्रहरी कार्यालय तोडफोड, ढुंगामुढा र आगजनी गरेको आरोप छ ।








